विधि नाघ्नेलाई टेरिँदैनः ओली
एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले एमाले जनताको आदेश र विधिको परिधि नाघ्नेहरुलाई नटेर्ने बताएका छन् ।
२१ फागुन दिउँसो पूर्वी झापाको सीमावर्ती काँकडभिट्टा बजारमा मेची महाकाली अभियान आरम्भ गर्दै ओलीले भने, “एमालेलाई उसको अभियानमा बाधा हाल्न खोज्नेहरुलाई टेरिँदैन ।”
ओलीले मुलुकको अग्रगति र राजनीतिक गतिरोधको अन्त्य एमालेले मात्र गर्नसक्ने दावी गर्दै भने, “एमालेको दबावका कारण स्थानिय निर्वाचन घोषणा भएको हो ।”
उनले १५ बर्षदेखि स्थानीय निकायमा जनताका प्रतिनिधि नभएको उल्लेख गर्दै सार्वभौमसत्ता जनतामा निहित गर्न स्थानीय निकायको निर्वाचन जरुरी रहेको बताए । अराजकतातर्फ देशलाई लैजान खोज्नेहरुले जात र भुगोलको नाममा लोकतन्त्र बिथोल्न खोजेको आरोप लगाए ।
मेची किनारबाट शुरु एमालेको दुइहप्ते अभियान महाकाली सम्म पुगेर ५ चैत्रमा सकिने बताइएको छ ।
अभियानमा सहभागी करिव एकहजार एमाले नेता कार्यकर्ताहरुको २१ फागुनको बास ओलीको गृहनगर पश्चिम झापाको दमक शहरमा हुनेछ ।
यसैबीच २१ फागुन बिहान ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, सुबासचन्द्र नेम्बाङ्ग, बामदेव गौतम, इश्वर पोखरेल लगायतका नेताहरुले ४४ बर्षअघि २०२९साल फागुन २१ गते झापाबाट इलाममा जेल सार्ने बहानामा पञ्चायती प्रहरीले इलामको सुखानी जंगलमा गोलीहानी ज्यान लिएका रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेन राजबंशी, कृष्ण कुइकेल र नारायण श्रेष्ठको शाहदतस्थल र शहिदपार्कमा पुगेर तिनका शालिकमा माल्यार्पण गरेका थिए ।
एमाले अध्यक्ष ओली सो झापा आन्दोलनका एकजना अगुवा हुन् ।
गोपाल गड्तौला, झापा