ब्लगशनिवार, फाल्गुण २१, २०७३

मोन्लमः आत्मरतिको खतरा

वसन्त महर्जन

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई तथ्य र स्वैरकल्पनाको अतिशय वर्णनबाट बचाउनुपरेको छ।

गत महीना तिब्बती बौद्ध धर्मको 'साक्य' सम्प्रदायका ४१औं धर्मगुरु साक्या ठ्रिजिन रिम्पोछेको अगुवाइमा लुम्बिनीमा भव्यताका साथ 'मोन्लम' मनाइयो। मोन्लमको अर्थ वन्दना, प्रार्थना वा स्तुति हो।

मोन्लम गर्नु भनेको बुद्ध र बौद्ध धर्मदर्शनको गुणस्मरण मात्र नभई अनुसरण समेत गर्दै 'आफू सारा प्राणीको कल्याणार्थ समर्पित हुन्छु' भनी अठोट गर्नु हो। यस्तो अठोट जहाँ जस्तो अवस्थामा पनि गरिरहनुपर्छ ताकि आफूमा विचलन नआओस्। 

तिब्बती शब्द 'मोन्लम' को नेपाली अनुवाद नगरिंदा यो अन्यत्र कहीं नभएको विशेष संस्कार–संस्कृति नै पो हो कि भन्ने भ्रम परेको देखिन्छ। अझ सञ्चारमाध्यमले त बुद्धको जीवनकाल (इ.पू. ५६३–४८३) का अनेकौं परम्परामा मोन्लम मात्र जीवित रहेको जस्ता आशयका समाचार, आलेख आउँदा झनै अलमल हुने अवस्था आयो।

एकैपटक एकभन्दा बढी सञ्चारमाध्यममा उही प्रकृतिका समाचार आउनुले स्रोतले नियोजित रूपमा यसखाले अफवाह फैलाउन खोजेको प्रष्ट हुन्थ्यो।

समाचारमा तिब्बती बौद्धधर्मका चार सम्प्रदाय निङ्मा, कार्ग्यू, साक्य र गैलुगमध्ये साक्य समुदायको मात्र लुम्बिनीमा मोन्लम हुन्छ भन्नु आत्मप्रशंसाको मोहमा तथ्य बङ्ग्याउनुबाहेक केही होइन। सत्य त के हो भने, तिब्बती भूमिमा बौद्ध धर्म पुगेकै सातौं शताब्दीमा मात्र हो।

साक्य सम्प्रदायको स्थापना त एघारौं शताब्दीमा धर्मगुरु खोन कोन्छोक् ग्याल्पो (इ.सं. १०३४–११०२) ले गरेका हुन्। त्यसकारण, बुद्धको जीवनकालदेखि नै लुम्बिनीमा साक्य सम्प्रदाय र मोन्लम प्रचलन थियो भन्नु सर्वथा गलत हो। तथ्य पस्कनमा सञ्चारकर्मी पनि चुके।

मोन्लमबारे एक लेखकले त बुद्धकालमै लुम्बिनीमा दिनहुँजसो हजारौं भक्तजनले आत्मशान्ति र विश्व शान्तिको कामना तथा बुद्ध परम्पराका सयौं चाडपर्व मनाउने गरेको पनि लेख्न भ्याए। विश्वभरका लामा र भिक्षुहरूको प्रार्थनाले उबेलै लुम्बिनी सधैंजसो गुञ्जायमान हुने गरेको तर विस्तारै बुद्ध जन्मस्थलबाट यी चाडपर्व हराएको र बुद्धकालीन झल्को दिने एउटै पर्व मोन्लाम मात्र बाँकी रहेको कुतर्क पनि गरिए।

गौतम बुद्धको जन्मअघि नै लुम्बिनी 'चित्तलता' उपवनका रूपमा प्रसिद्ध रहेको विवरण बौद्ध साहित्यमा पाइन्छ। बुद्धकै जीवनकालमा नभई महापरिनिर्वाणपछि भने लुम्बिनीले विस्तारै तीर्थस्थलको महत्व पाउन थालेको देखिन्छ।

इ.पू. २४९ मा सम्राट अशोक आउँदासम्म भने लुम्बिनी तीर्थस्थलका रूपमा विकसित भइसकेको थियो। तर, त्यहाँका परम्पराहरूबारे भने खासै जानकारी पाइँदैन। संभवतः बौद्धहरू उतिबेला बुद्ध जन्मेको ठाउँ भनेर लुम्बिनी पुग्थे र श्रद्धास्वरुप वन्दना गरेर फर्कन्थे। वा केही समय ध्यान, सूत्रपाठ गरेर बस्थे।

कुनै बेला बुद्ध र बौद्ध धर्म पनि अरू जस्तै पौराणिक हो कि भन्ने शंका थियो। अन्य धर्मावलम्बी तथा बौद्धिकको ध्यान यतातर्फ खासै आकर्षित भएको थिएन। तर अठारौं शताब्दीमा भारतीय भूमिमा भएका पुरातात्विक उत्खनन्बाट बुद्ध र बौद्ध धर्मसँग सम्बन्धित अनेक ऐतिहासिक तथ्य पत्ता लागे।

प्राप्त प्रमाणले बौद्ध धर्म पौराणिक नभई ऐतिहासिक भएको पुष्टि भयो। जन्मस्थल लुम्बिनीबारे भने अनेक अनुमान, विवाद र बहस हुन थाले। तर, सन् १८९६ मा लुम्बिनी नाम अंकित अभिलेखसहित अशोकस्तम्भ नेपालको पश्चिम तराईमा भेटिएपछि सबै विवाद स्वतः साम्य भए।

विभिन्न पौराणिक ग्रन्थहरूमा गरिएका वर्णन कोरा कल्पना मात्र नभएर कुनै बेलाको सत्य घटना वा वंशावली हुनुपर्ने अनुमान पनि गरिन्छ। तर इतिहासचेतको अभावमा त्यसलाई आफू अनुकूल तोडमोड र थपथाप गर्ने क्रम आजपर्यन्त जारी छ। यसले कतिपय इतिहासलाई इतिहास बन्नबाट वञ्चित गरेको छ।

बौद्ध धर्म र दर्शनले प्रत्यक्ष वा प्रमाणितबाहेक कुनै पनि कुरामा 'विश्वास' गर्न नहुने बताउँछ। यस दर्शनमा प्रमाणका रूपमा प्रत्यक्ष र अनुमानबाहेक शब्दप्रमाण अर्थात् शास्त्रीय ग्रन्थहरूमा लेखिएको आधारमा सत्य वचन भनेर स्वीकार्नुपर्ने बाध्यतालाई पनि कुनै मान्यता दिएको छैन। तथ्यको आधारमा इतिहास अध्ययन गर्न सकिन्छ। तर, विश्वास वा कल्पना गर्न सकिन्न, हुन्न।

बुद्ध र बौद्धसम्बन्धी ऐतिहासिक लिखत तथा पुरातात्विक वस्तु प्राप्त भइरहनु प्राज्ञिक क्षेत्रका लागि सुखद् पक्ष हो। मनगढन्ते कल्पना तथा अनेकथरी कुरा मिसाइँदा इतिहासको अपव्याख्या हुने डरले बौद्धहरू चिन्तित हुन्छन्।

तर बौद्ध धर्मसम्बद्ध कतिपय व्यक्तिहरू नै काल्पनिक कुरा जोड्नेतिर लालायित हुन थाल्ने हो भने लुम्बिनी पनि पौराणिक कथामा रूपान्तरण हुन समय लाग्ने छैन। यसप्रति सबै बेलैमा सचेत र संवेदनशील हुनुपर्छ।

प्रतिकृया दिनुहोस