दस्तावेजशनिवार, फाल्गुण २१, २०७३

सुरक्षा सन्देशको उपलब्धि

ज्ञानमणि नेपाल

पृथ्वीनारायण शाहले नेपाल उपत्यकामा २५ वर्ष शान्ति–सुरक्षा फैलाएर विशाल नेपालको बलियो जग बसालेका थिए।

पृथ्वीनारायण शाहले नुवाकोट किल्ला जितेपछि सोझै कान्तिपुरको राजधानी शहर जित्ने उद्देश्य राखेर सीधै अघि बढेनन्, किन्तु उत्तरपूर्व सीमानातिर सानातिना गढी किल्ला ककनी, स्युपुरी हुँदै नगरकोटसम्म जितेर भित्रतिरका गढरूपका साँखु, चाँगु पवित्र क्षेत्र पनि हात पारिसकेका थिए।

उता दक्षिणतर्फबाट पनि पसेर टिस्टुङ, पालुङ, चित्लाङलगायत पाटनका इलाकासम्म पुग्दा शहरमा एकपल्ट पनि आक्रमणको जमर्को गरेनन्। बरु शहर छेउको विकट किल्ला कीर्तिपुर जित्न सके शहर राजधानी स्वतः स्ववश भइजान्छ भन्ने उनले सोचेका थिए। 

हतारिएर त्यहाँ युद्ध गर्दा ठूलो क्षय–व्यय भएकोले त्यसबाट हच्किएर पृथ्वीनारायणले धेरै वर्ष नुवाकोटमै मूल राजधानी कायम गरे। अस्थायी मुकाम चाहिं पहिले कान्तिपुर शहर नजीक रमणीय दहचोक डाँडामै कायम गरिरहे।

अलिपछि चाहिं शहरभित्रका जनवर्गसँग हेलमेल बढाउन सजिलोका लागि नजीकैको लुटिकोट किल्लामा मुकाम कायम गरेका थिए। आजभोलि कतिपय विश्लेषक हौं भन्नेहरू पृथ्वीनारायणको त्यो अभियान एकताका लागि होइन, नेपालको एकीकरणको लागि पनि होइन, राज्य विस्तारको लागि मात्र हो, जनतालाई हात लिन जनता कमाउन नभएर एक मात्र गोरखा राज्य विस्तार गर्ने उद्देश्यले हो, सैन्यबल र युद्धबलले मात्र राज्य जोडेको हो भन्छन्।

हो, युद्ध हातहतियार र सैन्यबलले नै लडिन्छ। परन्तु, युद्धको पनि उद्देश्य, धर्म र नियमनीति हुन्छन्। नियमनीति पालना गरियो, गरिएन, उद्देश्य पूरा भयो, भएन, विचार विश्लेषण गर्ने हो।

पृथ्वीनारायण शाह आफ्ना सैनिक जवानहरूलाई सधैं सचेत गराउँथे– लडाइँ हुँदा हातहतियार नलिएका साधारण दुनियाँदार, किसान, कालिगड, बेपारीहरू कोही पनि नपरुन्, ती कसैको पनि कत्ति हानिनोक्सानी नपुर्‍याउनू।

उनले आफ्नो उदान्त्य कालको उपदेशमा 'आफ्ना मान्छेलाई आफ्ना हातले कदापि नमार्नू' भनेका छन्। उनले भनेका छन्– 'आफ्नो नूनको सोझो गर्ने सिपाहीलाई ज्यान जाने कस्तै विराम गरे पनि आफ्ना हातले नमार्नू, बरु लडाइँमा पठाइदिनू, जितिआएछ भने वेशै भो, मरिगएछ भने आफ्ना हातले मार्नु परेन।'

जमीन जोड्नु, धन कमाउनु मात्र उद्देश्य थियो भने पृथ्वीनारायणले जहाँबाट धन बढी बटुलिन्छ, जमीन धेरै जोडिन्छ त्यतै ध्यान दिनेथिए। मान्छे मरुन् कि बाँचून्, कुनै पर्वाह हुने थिएन। आफू पनि जोगिने, अर्को विरन्तरीलाई जोगाउने, जमीन पनि जोड्ने, जनता पनि जोगाएर आफ्नो अनुकूल पार्ने जुक्ति मिलाएर किन चल्थे?

जमीन र धन मात्र उद्देश्य थियो भने मान्छे मार्ने/मर्ने पर्वाह नराखी, जहाँ ढिकुटी छन्, जहाँजहाँबाट आम्दानी हुन्छ, त्यहाँत्यहाँ हात हाल्दै जथाभावी लडाइँ गर्दै मध्यकालको जस्तो बर्बर युद्ध गर्थे, तर त्यो गरेनन्।

शहरमा युद्ध छेडेका भए त्यहाँका निहत्था बाल, वृद्ध, वनिता कति मर्थे कति। जितेपछि राज्य गर्न त यहीं आएर बस्नुपर्छ, त्यतिबेला धेरै विधवा टुहुरा बालकहरू आएर मेरो सामु परेर रोलान्, त्यतिखेर म के भनेर तिनको चित्त बुझाउँला भनेर नै उनले शहर पसेर आक्रमण गरेर बिजाइँ–विध्वंस नमच्चाएका हुन्।

उनी वरिपरि घेराबन्दी गरेर, छेउमा शिविर जमाएर बसी शहरको गतिविधि बुझदै रहे। शहरभित्रका ठूलाबडा व्यक्ति, बेपारी महाजनहरूलाई हात लिंदै औसर हेरिरहेका थिए। त्यसरी राजधानीको गिर्दा बाहिर उनको अधीन भइसकेको थियो।

पर्खालभित्रका प्रजाहरूले पृथ्वीनारायणले मकवानपुर पनि जिते, उसलाई सहायता गर्न आएको नवाफको सैन्य परास्त गरिसके, हाम्रा राजा जयप्रकाशलाई मद्दत दिन आएको अंग्रेज बहादुरको सैन्य दललाई पनि सजिलै लखेटे, अब अहिले हाम्रो कान्तिपुर घेरेर बसेका छन्, अब यो पनि नलिई छाड्दैनन्, हामीले यिनकै शरणमा नगई धर छैन, सकल नेपालको पालनहार अब यिनै रहेछन् भन्ने मन बनाइसकेका थिए।

पृथ्वीनारायणको भित्री अभिप्राय नेपालका चार राज्य (गोरखा, मकवानपुर, कान्तिपुर र भक्तपुर) मिलेर, जनबल, धनबल जोडेर फिरंगी, मुगलका देश जितेर आम्दानी–खर्च बरोबर बाँड्ने भन्ने थियो।

सं. १८२५ को अनन्त चतुर्दशीका दिन इन्द्रजात्रा पर्व आइसकेको थियो। जात्रा प्रति वर्ष सात दिन मनाइन्थ्यो। पृथ्वीनारायण शाह शहरछेउको शिविरमा गठ जमाएर बसे पनि चालचुल केही नगरेकोले विघ्नबाधा नगर्लान् भन्ने सोचेर राजा जयप्रकाश मल्लले जात्रा शुरू गराए।

अनन्त चतुर्दशीको मध्यरातमा पृथ्वीनारायणका फौज पश्चिम, उत्तर र पूर्वको ढोका फोडी हुरुरुरु शहर पसे। स्वयं पृथ्वीनारायण बालाजुपट्टिबाट शुरूशुरू आएर हनुमानढोका डबलीमा राखेको सिंहासनमा बसे।

सुरक्षाका लागि बसेका नगरकोटी सैनिक सामान्य मुकाविलामै तितरवितर भए। उनीहरू भाग्दा पोखिएको बारुदमाथि गोरखालीहरूले बढाइँ गर्दा सल्केको आगोमा सल्किएर काजी तुलाराम पाँडे मरे।

कुमारीको रथ चलाउँदै दक्षिण ढोकातर्फ (टेकुतिर) लागेका जयप्रकाश त्यो समाचार सुन्नासाथ केही मन्त्री र भारदारका साथ त्यतैबाट शरण लिन पाटन पुगे। भोलिपल्ट बिहान काठमाडौंवासीले पृथ्वीनारायणलाई राजा पाए। तिनले खुशीसाथ नयाँ राजाको स्वागत गरे।

कान्तिपुरका केही धनीमानी व्यक्ति पनि राति भागेर पाटन गएका थिए। निर्भयसाथ आएर आ–आफ्ना घरमा सुखशान्तिसँग बस, होइन पुरानै राजासँग रहन्छौ भने तिमीहरूको घरजग्गा सर्वश्व हुन्छ भन्ने सन्देश पाएपछि उनीहरू पनि धमाधम फर्किए।

जयप्रकाश चाहिं 'अंग्रेज बहादुर हार मान्दैन, हाम्रो भरमद्दतको लागि अवश्य आउँछ' भनेर पाटनका प्रधानहरूलाई ढाडस दिइरहेका थिए। तर, पृथ्वीनारायणले दूत पठाएर आत्मसमर्पण गर्न भन्दा पाटनका काजी प्रधानहरू तत्पर भई गए।

एकजना प्रधान त पृथ्वीनारायणसँग पहिल्यै मिलिसकेका थिए। पाटनका काजी प्रधानहरूको चालामाला बडो विचित्रको थियो। पाटनमा पुराना मल्लवंशको उत्तराधिकारी परम्परा विच्छिन्न भएको हुँदा प्रधानहरू नातागोता पैल्याएर राजा थपना गर्थे। मन परुञ्जेल राख्थे, नपरेपछि निकाल्थे। साह्रै रीस उठ्ता कसैलाई काटेर मारे पनि।

तिनले भक्तपुरका राजा रणजीतलाई पनि पाटन ल्याएर राजा बनाएका थिए। अर्कोपल्ट उनलाई निकालेर जयप्रकाश मल्ललाई राजा माने। पाटनका प्रधानहरूले स्वयम् पृथ्वीनारायणलाई पनि राजा बन्न निम्त्याएका थिए।

पृथ्वीनारायणले भने भाइ दलमर्दन शाहलाई पठाइदिए। दलमर्दन पनि केही समय पाटनका राजा भएर निकालिए। अहिले पनि तेजनरसिंह मल्ललाई निकालेर पृथ्वीनारायणलाई राजा मान्दा आफ्नो ज्यान–धन बच्छ भने किन नमान्ने भनेर राजीखुशी पृथ्वीनारायणकहाँ आत्मसमर्पण गर्न गए।

आफ्ना काजी प्रधानहरूको गतिविधि बुझेपछि अब अंग्रेजको बाटो हेरेर बस्ने होइन, भक्तपुरमै शरण पर्न जानुपर्छ भन्ने सल्लाह गरेर दुवै राजा भक्तपुर पुगे। भक्तपुरका राजा रणजीत आफ्ना प्रजाजनको सल्लाह–सहमति बेगर कुनै विशेष निर्णय लिंदैनथे।

अतः शरणार्थी राजाहरूले मन्दिरको धर्मशालामा त्यो रात बिताए। भोलिपल्ट प्रजाको सहमतिमा शरण पाए। त्यहाँ मीतबाबुका नाताले पृथ्वीनारायणले आक्रमण गर्दैनन् भन्ने यिनमा विश्वास थियो।

कान्तिपुरमा राजाकै हकडक थियो। भारदार, दुनियाँदारको कुनै पुछ थिएन। पाटनमा काजी प्रधानको मनोमानी चल्थ्यो, राजा प्रजाको कत्ति भाउ थिएन। भक्तपुरमा भने प्रजा नै सर्वोपरि थिए। यो तीन राज्यको तीन राजधानीको तीन चाला थियो।

शान्तिसुरक्षा सन्देशको उपलब्धि नै हो, पृथ्वीनारायणले २५ वर्ष लाएर यी दुई राज्य (कान्तिपुर र पाटन) को राजधानीभित्र छिसिक्क युद्ध नगरी सरक्कसँग हात लाएर विशाल नेपालको बलियो जग बसाले।

पाटनका प्रधानबारे

श्री विश्वजित मल्ल कटारीमा पर्‍या श्री रञ्जितै मल्ल त छल् हुँदा सर्‍या

श्री तेजनसरसिंह त काबुमा पर्‍या जयाप्रकाश पाटनमूर्ति हुन् गर्‍या

लडाञीमा धन व्यरथ नफाल्या हास्हुस् गर्‍या ज्यान परिवार पाल्या

गौरङ् त हौं बात त यो नफाल्या जो जितछौ हाम्री त सोही माल्या।

सम्भावित राजधानीबारे

दहचोकमहाँ नृपको रहर प्रिय बात हुन्या सँगमा कहर (केहरसिंह)

धरी ठानु जम्यो त जहाँ शहर अरिमा रणलाई बन्या जहर

– कवि उदयानन्द

प्रतिकृया दिनुहोस