ब्लगशनिवार, फाल्गुण २१, २०७३

थाइरोइडको हैरानी

डा. सुमनराज ताम्राकार

थाइरोइड ग्रन्थीको कामगराइ कम वा अधिक जे भए पनि नियमित औषधि सेवनबाट सामान्य बनाउन र त्यसपछि औषधि छोड्न सकिन्छ।

घाँटीको अग्रभागमा हुने अकबरे खुर्सानी आकारको थाइरोइड ग्रन्थीको कामगराइ पनि चर्कै हुन्छ। यसले शरीरभरको विविध प्रणाली तथा अन्य ग्रन्थीका कामगराइमा सामञ्जस्य गरिरहेको हुन्छ।

थाइरोइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनले शारीरिक वृद्धि विकास र तन्दुरुस्तीमा मद्दत गर्छ। पुरुषको घाँटीमा अलि ठूलो हुनाले रुद्रघण्टी समेत भनिने यो ग्रन्थीको कम वा बढी कामगराइले स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ। 

शुरूआती अवस्था वा थाइरोइड हर्मोनको मात्रा तल–माथि हुने बित्तिकै त्यसको लक्षण नदेखिने हुनाले विश्वका करोडौं मानिसलाई थाइरोइडको समस्या भए पनि आधाजसोलाई आभास समेत हुँदैन। पहिल्यैबाट रहेको थाइरोइड ग्रन्थीको समस्यालाई लिएर अहिले भने निकै चासो बढेको छ। पछिल्लो समय रगतबाट नियमितजसो थाइरोइड जाँचिन थालेकाले अहिले त कृत्रिम रूपमा यो समस्या वृद्धि भएको छ।

थाइरोइडको ९० प्रतिशत गडबडी यसको कम कामगराइले हुन्छ। यस्तो बेला राति मज्जाले ९–१० घण्टा सुते पनि थकाइ र आलस्य महसूस हुन्छ। त्यस्तो बेला शरीरका विभिन्न भागमा पानी थेग्रिएर तौल बढ्छ।

मूड बिग्रने, अवसाद र चिन्ता लाग्ने हुन्छ। खाना कम नै खाए पनि तौल बढ्ने हुन्छ। जोर्नी र मांसपेशीहरू दुख्छ। थाइरोइडको कामगराइ कम भएको व्यक्तिमा जाडो महसूस हुने, हातखुट्टा चिसो हुने, शारीरिक तापक्रम पनि सामान्य भन्दा कम हुने हुन्छ।

छाला पहेंलिने, सुक्खा हुने, कपाल र्झ्ने, सजिलै नङ भाँचिने, हात झ्मझ्माउने, कब्जियत हुने, रगतमा कोलेस्टेरोलको मात्रा बढ्ने हुन्छ। यस्तो व्यक्तिको ध्यान केन्द्रित नहुने, स्मरणशक्ति क्षय हुने, घाँटी सुन्निने, घुराइको समस्या, स्वर धोद्रो हुने पनि हुन सक्छ।

थाइरोइड ग्रन्थीको कामगराइ बढ्दा हुने समस्यालाई मेडिकल भाषामा 'हाइपरथाइरोइडिज्म' भनिन्छ। यस्तो अवस्थामा मन आत्तिने, हातखुट्टा काँप्ने, मुटु तथा नाडीको चाल बढ्ने, मांसपेशीमा पीडा हुने, गर्मी खप्न नसक्ने हुन्छ। यी लक्षणहरूको आधारमा कसैलाई थाइरोइड भएको शंका लाग्ने बित्तिकै रगतमा टीएसएच नामक हर्मोन जाँचे पुग्छ।

टीएसएचको परिणाममा तलमाथि देखिए इन्डोक्राइनोलोजिस्टको सल्लाहमा थाइरोइडको कामगराइ सम्बन्धी अन्य जाँच गराउनुपर्छ। थाइरोइड ग्रन्थीलाई स्वस्थ राख्न आयोडिन, जिंक, सेलेनियम, आइरन, भिटामिन डी र बीयुक्त मल्टिभिटामिन खानुपर्छ। क्लोराइड, फ्लोराइड र ब्रोमाइडयुक्त खानेकुरामा परहेज गर्नु बुद्धिमानी हुन्छ। बन्दा र काउली धेरै खानुहुँदैन। सजिलै पच्ने खाना खानुका साथै मनग्गे सुत्नुपर्छ।

महिलामा थाइरोइड
तुलनात्मक रूपमा महिलामा थाइरोइडको समस्या अलि बढी हुन्छ। थाइरोइडकै कारण महिलाहरूमा हर्मोन तल–माथि भई चिडचिडाहट उत्पन्न हुने, महीनावारी गडबडी हुने, यौन चाहना कमी आउने हुन सक्छ। अझ् पटक–पटक गर्भ खेर जाने चिन्ताजनक अवस्था पनि आउन सक्छ। गर्भवतीको थाइरोइड ग्रन्थीको कामगराइमा गडबडी आएर महीना नपुगी व्यथा लाग्ने, शिशुको स्नायु प्रणाली विकासमा नकारात्मक असर पर्ने आदि समस्या पनि हुने भएकोले यसलाई हल्का रूपमा लिनुहुँदैन।

हाम्रो नेपाल त्यसै पनि खानेकुरामा आयोडिन कमी हुने मुलुक हो। गर्भवती महिलाको मिर्गौलाबाट बढी थाइरोइड हर्मोन निष्काशन भएर वा गर्भे शिशु एवं सालमा पनि आयोडिनको खपत बढ्न गई शरीरमा आयोडिनको कमी भएर वा गर्भावस्थामा निस्किने कतिपय हर्मोनको कारणले गर्भावस्थामा थाइरोइड ग्रन्थीको कामगराइमा फरकपना आउन सक्छ।

गर्भावस्थामा थाइरोइड ग्रन्थीको कामगराइ कम भयो भने रक्तचाप बढ्न सक्छ। त्यस्तै, सुत्केरी व्यथा लाग्दा पाठेघरको भित्ताबाट साल टाँसिन र सुत्केरी भएपछि अधिक रक्तस्राव हुन सक्छ। थाइरोइड समस्या भएका गर्भवतीको मुटुको कामगराइ फरक हुन सक्छ, उमेर एवं तौल नपुगेको बच्चा जन्मिन सक्छ भने गर्भमै शिशुको मृत्यु पनि हुन सक्छ।

यसको अलावा पटक–पटक गर्भ खेर जाने, रक्त अल्पता देखा पर्ने पनि हुन सक्छ। गर्भावस्थामा थाइरोइड ग्रन्थीको कामगराइ बढ्ने समस्या हजार महिलामा दुई जनालाई हुन सक्छ। त्यसबाट गर्भ खेर जाने, महीना नपुग्दै व्यथा लाग्ने, शिशुको तौल कम हुने र गर्भवतीको मुटुले काम नगर्ने हुन सक्छ।

गर्भावस्थामा पहिलोपल्ट हो कि पहिल्यै थाइरोइडको समस्या थियो भन्ने आधारमा यसको औषधोपचार गर्ने वा औषधिको मात्रा मिलाउने गरिन्छ। थाइरोइडग्रस्त महिला सुत्केरी भएलगत्तै शिशुको रगतमा पनि थाइरोइड जाँच गर्नुपर्छ। यो समस्या पछिल्लो गर्भमा दोहोरिन र कुनै पनि बेला लक्षणहरू बिग्रनसक्ने हुनाले नियमित 'फलोअप' मा रहनुपर्छ। आमाले प्रयोग गर्ने थाइरोइडको औषधि दूधबाट शिशुमा जान सक्ने हुनाले स्तनपान गराउँदा सतर्क हुनुपर्छ।

प्रतिकृया दिनुहोस