कला/साहित्यशनिवार, फाल्गुण २१, २०७३

दर्पण छायाँ–२: आशाको त्यान्द्रो

बच्चु विक

निर्देशक तुलसी घिमिरे ।                     तस्वीरः गोपेन राई

बलिउडमा चलचित्र सम्पादन गरिरहेका तुलसी घिमिरेलाई ३६ वर्षअघि नेपाली चलचित्र बाँसुरी बनाउँदा खासै सोच्नु परेन। तर, अहिले दर्पण छायाँ–२ बनाउँदा भने धेरै सकस भयो। 

“त्यतिबेला जे बनाए पनि हुन्थ्यो” उनी भन्छन्, “तर अहिले समयलाई बुझेर हिंड्नु छ।” उनको भनाइमा, दर्पण छायाँ–२ समयको पदचाप पछ्याउने पछिल्लो प्रयत्न हो। यू–ट्यूबमा हप्ता दिनमा यो चलचित्रको ट्रेलर तीन लाखभन्दा बढी दर्शकले हेरेका छन्।

१६ वर्षअघि निरुता सिंह, दिलीप रायमाझी, उत्तम प्रधानलगायतका कलाकार लिएर बनाएको दर्पण छायाँ त्यो समयको सुपरहिट थियो। एक दर्जन हलमा ५० दिन र पाँच वटा हलमा १०० दिन चलेको यो चलचित्रले रु.७ करोड कमाएको थियो। त्यही दर्पण छायाँ कै झल्कोले नछाडेपछि घिमिरेले श्रद्धा प्रसाई, पुष्पल खड्का, सारा कार्कीलगायतका नयाँ कलाकारलाई 'डेब्यू' गराउँदै दर्पण छायाँ–२ बनाएका हुन्। “यो दर्पण छायाँ को सिक्वेल होइन, तर केही छायाँ भने देखिन्छ। पहिलोलाई उछिन्छ”, घिमिरे आत्मविश्वासी देखिन्छन्।

बाँसुरी–दर्पण छायाँ

तीसको दशकको मध्यतिर घिमिरेले नेपाली चलचित्रसँग साइनो गाँस्दा दर्शक के रुचाउँछन् भन्ने विषय गौण थियो। निर्देशक पनि यस्तो सोच्दैनथे। हिन्दी फिल्म 'डब' गरेर देखाइन्थ्यो। दर्शकसँग छनोटको अवसर थिएन। “डब गरेर चलचित्र देखाउनु भन्दा नेपाली फिल्म बनाउन उचित लाग्यो”, घिमिरे बाँसुरी बनाउँदाका दिन सम्झिन्छन्। कथावाचन शैलीमा बलिउड धारलाई पछ्याए पनि उनले भेषभूषा, रहनसहन, गीत–संगीतमा नेपालीपन घोले।

पहिलो चलचित्रको सफलतासँगै हौसिएका घिमिरेले २०४० मा भुवन केसी, तृप्ति नाडकर, उदितनारायण र नीर शाहलाई लिएर कुसुमे रुमाल बनाए। चलचित्रले राम्रो व्यापार मात्र गरेन, घिमिरेलाई पनि चर्चित बनायो। त्यसपछि उनले लगातार लाहुरे, चिनो, कोसेली, दुई थोपा आँशु जस्ता 'हिट' चलचित्र बनाए। “त्यसपछि भने फरक स्वाद दिन मन लाग्यो। र गुरु–चेला सम्बन्ध उनिएको दक्षिणा बनाएँ”, चलचित्रमा गुरुको भूमिकामा अभिनय समेत गरेका उनी भन्छन्। त्यसपछिका देउता र बलिदान पनि सम्झिरहने चलचित्र बने। रहर ले भने गतिलो व्यापार गरेन।

सशस्त्र द्वन्द्व उत्कर्षका बेला अरुझै चलचित्र क्षेत्र पनि धरासायी बनेको थियो। मुख्य शहरहरू बाहेकका चलचित्र हलहरू बन्द थिए। जति चलचित्र चल्थे, ती पनि द्वन्द्वप्रधान हुन्थे। त्यही बेला २०५७ सालमा घिमिरेले दर्पण छायाँ बनाए। कथालेखन र सम्पादन पनि आफैंले गरे। 

प्रेमकथामा आधारित दर्पण छायाँ घिमिरेले बनाएका २१ चलचित्रमध्ये सर्वाधिक सफल मानिन्छ। चलचित्र समीक्षकहरू दर्पण छायाँ लाई निर्देशक घिमिरेको करिअरको 'पिक पोइन्ट' मान्छन्। विडम्बना, यसपछिका चलचित्रहरूले दर्पण छायाँ को छाप जोगाइराख्न सकेनन्।

असफल यात्रा

समय उस्तै रहेन, द्वन्द्व सकियो। घिमिरे उही चलचित्र कर्ममै तल्लीन रहे। नयाँ पुराना कलाकारलाई लिएर माया त माया हो, देश, स्वर्गकी परी, मृगतृष्णा, दृष्टिकोण जस्ता चलचित्र बनाए। तर, यी चलचित्रहरूले दर्पण छायाँ को उँचाइ हासिल गर्न त के नजीक समेत पुग्न सकेनन्। घिमिरे कतै हराए। “समयको गति बुझ्न सकिनछु, दर्शकको रुचि ठम्याउन सकिनँ”, घिमिरे आत्मसमीक्षा गर्छन्।

नवीन सुब्बाको नुमाफुङ सँगै फरक शैलीका चलचित्र निर्माण र नयाँ निर्देशकहरूको आगमन चलिरह्यो, योबीचमा। हामी तीन भाइ, सानो संसार, लूट, जेरी, कबड्डी, पशुपति प्रसाद, होस्टेल, झोला, बाटोमुनिको फूल, टकलजंग भर्सेज टुल्के, छक्कापञ्जा लगायतका दर्जनौं चलचित्र 'हिट' भए। तिनका निर्देशक तथा कलाकारले चर्चा पाए। दर्शकको स्वाद फेरिएसँगै चलचित्रको विषयवस्तु र प्रस्तुति पनि फेरियो।

यो बीचमा पाका निर्देशक घिमिरे भने मौन रहे। उनकै भनाइमा, समयको गति र दर्शकको रुचि अध्ययन गरिरहें। र, पाँच वर्षपछि बल्ल नयाँ चलचित्र बनाउने निष्कर्षमा पुगें। दर्पण छायाँ–२ बाट दर्शकले अहिलेसम्मकै भर्पाइ पाउने उनको दाबी छ।

परिपक्व निर्देशकबाट उत्कृष्ट चलचित्र अपेक्षा गरिन्छ। घिमिरे पछिल्लो चलचित्रमा अहिलेसम्मकै अनुभव, सीप र विवेक खन्याएको बताउँछन्। तर, यसको परीक्षण भने उनको भनाइले होइन, २७ फागुनदेखि प्रदर्शनमा आउने दर्पण छायाँ–२ बाटै हुनेछ।

प्रतिकृया दिनुहोस