दम्पतीको 'कृषि क्रान्ति'
रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सैनामैना कृषि उद्योग र सैनामैना बाख्रापालन तथा नश्ल सुधार संस्थाका सञ्चालक हुन्, प्रेमसागर पौडेल (४३)। पर्रोहा उच्चमाविको आठ बिघा जमीन दश वर्षका लागि लिजमा लिएर उनले तीन वर्षदेखि २७ जातका बहुवर्षे घाँस खेती गरिरहेका छन्।
विभिन्न बिरुवा पनि उत्पादन गर्छन्। पश्चिमाञ्चलका धेरै जिल्लाका गाईवस्तुले उनको घाँस खाइसकेका छन्। बिरुवा भने ५३ जिल्लासम्म पुगिसकेका छन्। अफ्रिकी, अष्ट्रेलियनलगायत १३ प्रजातिका झण्डै ४०० बाख्रा पनि छन्।
यति मात्र भनेर उनको परिचय पूरा हुँदैन। यी तिनै प्रेमसागर हुन्, जो कुनैबेला सक्रिय विद्यार्थी नेता थिए। अनेरास्ववियू छैटौंका केन्द्रीय महासचिव बनिसकेका उनी लामो समय लेखन, पत्रकारिता र साहित्यमा पनि संलग्न रहे। यहीबीचमा उनले साहित्य र शिक्षाशास्त्रमा स्नातकोत्तर पनि सिध्याए।
“राजनीति, शिक्षा, पत्रकारिता यी सबै पेशाभन्दा घाँसमै मलाई आनन्द मिलेको छ”, पौडेल सुनाउँछन्, “कृषिबाटै भविष्य खोज्दैछु।”
पौडेलको कृषि उद्योगमा हालसम्म डेढ करोड रुपैयाँ लगानी भइसकेको छ। लगानीकर्ता थपेर उद्योगलाई विस्तार गर्ने उनको योजना छ। युवा स्वरोजगार कोषमा आफ्नो उद्योग छानिए पनि अहिलेसम्म केही हात लागेको छैन। “सुविधा लिन सरकारी कार्यालयमा धाएको धाएकै गर्नुपर्दोरहेछ, त्यसो गर्न सकिएन”, उनी भन्छन्।
पौडेलका लागि अब आदर्शको राजनीतिको कुनै मूल्य छैन, व्यावहारिक क्रान्ति चाहिन्छ। त्यसैले आफू कृषि कर्ममा लागेको उनको तर्क छ। “देश साँच्चै परिवर्तन गर्ने हो भने कृषि क्रान्तिको खाँचो छ”, उनी भन्छन्, “म कृषि क्रान्तिलाई व्यवहारमा उतारेर समाज परिवर्तन गर्न चाहन्छु।'
पौडेलको घाँस र बाख्रा उद्यममा श्रीमती ज्ञानकुमारी पुनको भूमिका महत्वपूर्ण छ। बेलायतमा बिजनेश म्यानेजमेन्ट अध्ययन गरेकी ज्ञानकुमारी घाँसपात र बाख्राहरूलाई स्याहार्नमै रमाएकी छिन्। “हाम्रो संसार र सन्तान सबै यसैमा छ”, पुन भन्छिन्।
दीपक ज्ञवाली