काठमाडौंमा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै
नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी ३ चैतमा राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ ।
वाणिज्य मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घले योजना गर्ने मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टिलका छुट्टाछुट्टै स्टल राखिने छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मेलाले समग्र आर्थिक पक्षलाई समेट्ने बताउँदै देशैभर आयोजना भएका यस्ता मेला महोत्सवबाट स्थानीय तहमा आर्थिक गतिविधि बढेको, स्थानीय तहमा उद्यमशीलताको प्रवद्र्धन भएको, घर आँगनमा उत्पादन भएका वस्तुले मूल्य पाउन थालेको तथा खेर गइरहेका स्थानीय स्रोत साधनको सही सदुपयोग भई स्थानीय जनताले त्यसबाट लाभ उठाउन थालेको बताए ।
३४० कक्षमार्फत अन्तर्राष्ट्रिय व्यापार मेलामा स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ भने मेलामा ३५ वटा कक्षमार्फत नेपाली जडीबुटीका उत्पादन प्रदर्शनीमा राखिनेछ ।
मेलामा चीन, भारत, बङ्गलादेश, पाकिस्तान, थाइल्याण्ड, जापान, कोरिया, थाइल्याण्डलगायत देशका कम्पनीको सहभागिता रहनेछ ।