ब्लगशुक्रवार, फाल्गुण २०, २०७३

हाम्रा नेता र तिनका भारी

कनक दीक्षित

कहिलेकाहीं लाग्दछ, नेपाल र नेपालीले अन्तर्राष्ट्रिय जगतमा किन नाम कमाएनन्? के, हामी कमसलै नागरिक हौं त? हुन पनि कमजोरी त कति हुन् कति, जो नेताहरूको दिनानुदिन भागबण्डा राजनीतिले नै दर्शाउँछन्– तीन तीन जना म्यानपावर मालिकलाई कतै नभएर खाडी मुलुककै लागि राजदूत नियुक्त गर्न सक्ने दलहरू छन् यहाँ।

तर कमजोरीलाई तुलनात्मक ऐनामा हेर्नुपर्छ, नत्र आश मर्दछ। नेपालका नेताहरूले सामना गर्नुपरेको चुनौतीको पहाड पनि बुझौं। राजासँग दशकौं लडेपछि पाँच वर्ष मात्र निष्फिक्री लोकतन्त्रको अभ्यास गर्न पाए, अनि त कहालीलाग्दो 'जनयुद्ध' काल, संविधान बनाउने संक्रमणकाल, त्यसपछि संविधान बनेपछिको संक्रमण। निरन्तर विदेशी र विशेषगरी भारतीय हस्तक्षेप झेल्नुपरेको छ। कहिले खिलराज उदाउँछन्, कहिले लोकमान।

यसरी एउटा चश्माले हेर्दा नेताहरू दरिद्र, अकर्मण्य, घटिया प्राणी। अर्को चश्माले हेर्दा समग्रमा नेतागण चनाखा, विषम परिस्थितिमा गाली र खप्की खाँदै जनता र देश बचाउँदै गरेका पनि देखिन्छन्।

नागरिक समाजका कतिपय सदस्य भने हरबखत नयाँ पार्टी खोल्न तम्तयार। केही नागरिक अगुवा 'मुलुक यत्ति बिग्रियोस् कि अनि मेरो पालो आउला' भन्दै कुरी नबसेका होइनन्। ती मुखछाडा अगुवा जसको भनाइमा स्थिरता छैन, अवसरवादले लिप्त, सदैव 'एटेन्शन' आफूमा केन्द्रित गर्न खोज्ने, जल्दाबल्दा मुद्दामा 'पोजिशन' भने नलिने, लोकरिझ्याइँ गर्दै पत्रकार र सर्वसाधारणलाई मक्ख पार्नेलाई 'र्‍यान्डम्' नेतासँग दाँजी हेरौंत। मेरो लख यो हुन्छ कि नेता–अगुवा दुईथरीको स्तरमा धेरै माथि तल पाउने छैनौं।

बल्लबल्ल निर्वाचन उन्मुख हाम्रो मुलुकमा अब नेताहरूतर्फको हीनताबोध त्याग्ने बेला आयो। एउटा 'नयाँ शक्ति' देखाउने पार्टी आउला भन्ने थियो कसै कसैलाई, तर मतदाताबाट परीक्षणको यस्तो मौकालाई उसले उपयोग नगर्ने लाचारी देखायो। मधेशी मोर्चाका घटकहरूलाई निर्वाचनमा सरिक बनाउन के कति गर्न सक्छन्, तीन ठूला दलले गरुन्।

यो नबिर्सौं कि मधेशी नेतालाई काम गर्न पहाडिया नेतालाई भन्दा धेरै गाह्रो छ। र, उनीहरूलाई निरन्तर खिसीको पात्र बनाइँदा ठूलो अन्याय भएको छ। खुला सीमानासँग सम्बन्धित अपराध, वीरगञ्ज महावाणिज्यदूतको नाजायज प्रभाव, जासूसहरूको दबाबदेखि काठमाडौंले देखाउने हीनभाव– यस्तो माहोलमा मधेशी राजनीतिज्ञहरूले आ–आफ्नो राजनीतिक जीवनको प्रतिरक्षा गर्दै अगाडि बढ्नुपरेको छ।

नेपाली राजनीतिको सही मूल्यांकन गर्न अरू मुलुकसँग दाँज्ने हो। कसैले भन्दैन, नेपाल ठीक हिसाबले चलेको छ। विशेषतः नागरिकलाई समावेशिता तथा समृद्धितर्फ लैजानमा हामी चुकेका छौं, पूरै सात दशकको आधुनिक युगमा। परिवर्तन त धेरै भयो, तर मिहिनेती जनताले अर्थोपार्जन गर्न पाएनन्, त्यसैले खाडी र मलेशिया चहार्नुपरेको छ। यसको मुख्य कारण बिग्रेको राजनीति र विषम भूराजनीति हो। तर छेउछाउको मुलुक र प्रान्त हेर्ने हो भने अझै पनि नेपाली समाजको सौम्य र फराकिलो मन देखिन्छ। तिब्बतीहरू हान चिनियाँको आगमनले आफ्नै थलोमा एक्लिंदैछन्। पाकिस्तानका जनता तालिवान, आइसिस्लगायत सैनिक जासूस (आईएसआई) इत्यादिको तारो बन्छन्र सुन्नी–शिया द्वन्द्वको मारमा पनि। एक हप्ताअघि मात्र सिन्ध प्रान्तमा मस्तकलन्दर सुफिदर्गामा भक्तजनमाझ बम विस्फोटमा झण्डै १०० जनाको ज्यान गयो।

भारतमा जताततै तनाव छ। छेवैको उत्तरप्रदेशमा भइरहेको निर्वाचनको दौरानमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह जस्ता राष्ट्रिय नेताले साम्प्रदायिकता भड्काउने भाषण गर्दै हिंड्छन्।

बाङ्लादेश त एकदलीय प्रणालीमा प्रवेश गरिसक्यो । शेख हसिनाको अवामी लिग खालिदा जिया र उनको दल बीएनपीको नामोनिशान मेटाउने तरखरमा छ। सामाजिक–राजनीतिक अवस्था जर्जर छ, जसको संकेत हो– ब्लगमा स्वतन्त्र विचार राख्ने व्यक्तिमाथिको धार्मिक अतिवादीद्वारा सांघातिक आक्रमण र हत्या। म्यानमारमा त्यत्रो ख्याति कमाएकी आङ साङ सुची 'राजनेता' वा 'स्टेट्स–वुमन' बाट साधारण नेताको पंक्तिमा झरेकी छन्, उत्तरपूर्वी रखाइन् प्रान्तका रोहिंग्या मुसलमानहरूलाई अमानवीय विस्थापनतर्फ धकेलेर।

तुलनात्मक हिसाबले हेर्दा नेपालमा शान्ति छाएको छ, द्वन्द्वकालको पाठ पनि सिकिएको छ। र, माओवादीको 'डेमागगी' आचरणलाई त मत्थर पार्न सफल भएको छ भने यसको श्रेय किन नलिने? पहिलो श्रेय दिऊँ जनतालाई; हिमाल, पहाड र तराई–मधेशका, जसले भड्काउमा पर्न चाहेनन्, परेनन्। श्रेय दिऊँ हाम्रा राजनीतिज्ञहरूलाई थुप्रै आरोप र आलोचनाका बाबजूद। यसरी नेपाल शान्त बन्न पुग्यो, र धुकधुकी नै किन नहोस् लोकतन्त्र चलायमान छ।

अर्को तरीकाले पनि हेरौं। आज संसारमा खाँट्टी कम्युनिष्ट अधिनायकवाद तथा दक्षिणपन्थी 'डेमागग'को विगविगी छ। यी दुईथरीको वस्तुगत रणनीति र कार्यशैलीमा धेरै फरक छैन। बेइजिङमा विराजमान सी जिनपिङ त महाचीनको सर्वव्यापी अटोक्र्याट भइहाले, रूसका भ्लादिमिर पुटिन, टर्कीका रेचेप एर्दोगान्, फिलिपिन्सका रोड्रिगो दुतर्ते र भारतका नरेन्द्र मोदी दक्षिणपन्थ डेमागग हुन्, र यिनमाथि हिंसा प्रयोगको आरोप लागेको छ।

रहे अमेरिकाका डोनाल्ड ट्रम्प; जसको सिल्ली बोली, व्यवहार तथा हस्तक्षेपले अमेरिका लोकतन्त्र गुम्न सक्ने मुलुकको तालिकामा दर्ज हुन पुगेको छ। संसार हेरिरहेछ– अब के गर्छ अमेरिका, कता जान्छ अमेरिका!

यी नेतामध्ये कति त 'डाइनामिक' पनि होलान्― 'प्रोपोगाण्डा' प्रयोगमा सिपालु, गुप्तचर प्रयोगमा 'सफल', ढाँट्न माहिर; तर हामीलाई त त्यता जानु नै छैन। तसर्थ, आफ्नो चश्मामा रहेको धूलो–दाग पुछौं र हाम्रा नेतालाई फेरि एकपटक नियालौं। अब स्थानीय निर्वाचनद्वारा फेरि मुलुकभर लोकतन्त्र पुनर्जागरण गर्ने हो, र यसका साथ जन्माउने हजारौं हजार भोलिका नेता।

प्रतिकृया दिनुहोस