चार स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्त
सरकारले चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ।
प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. राजकुमार रौनियार, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. भरत यादव, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. बुद्धिबहादुर थापा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. राजेन्द्र वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
डा रौनियार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभाग प्रमुख हुन् भने डा यादव पाटन अस्पतालको आकस्मिक विभागका प्रमुख हुन् ।
यस्तै, डा. थापा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट हुन् भने डा वाग्ले त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन् ।
सहकुलपति तथा स्वास्थ्यमन्त्री गगन थापाको संयोजकत्वमा गठित उपकुलपति छनौट समितिको सिफारिसमा प्रधानमन्त्रीले उनीहरुलाई नियुक्त गरेका हुन्।
प्रतिष्ठानका लागि छनौट समितिले तीन–तीन जना उम्मेदवारको नाम कुलपति एवं प्रधानमन्त्री दाहाल समक्ष सिफारिस गरेको थियो।
स्वास्थ्य मन्त्री थापा संयोजक रहेको समितिमा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी सदस्य थिए।