काठमाडौंमा लगानी सम्मेलन शुरु
प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । १९ फागुनमा राजधानीमा ‘नेपाल लगानी सम्मेलन’ को उद्घाटन गर्दै उनले लगानीका लागि उपयुक्त नीति–नियम बनाउन लागि पर्ने बताए ।
उद्योग मन्त्रालय र लगानी वोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा शुरु भएको दुई दिने सम्मेलन उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान जारी भएपछि नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको बताए । निजी क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख विपक्षी दलका नेताका रुपमा आफूले मुलुकको आर्थिक समृद्धिका लागि उपयुक्त वातावरण बनाउन पहल गर्ने बताए । मुलुकको आर्थिक विकासका लागि सबैको सहयोग आवश्यक पर्ने उनको धारणा थियो ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले परियोजना बैंक बनाएर लगानीका लागि सबै क्षेत्रमा सहजीकरण गर्न सरकार तयार रहेको बताए । कार्यक्रममा उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालले लाखौं युवाका लागि रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिएको उल्लेख गरे ।
यस्तै पूर्व अर्थमन्त्री डा. रामशरण महतले ऊर्जा, कृषि, पर्यटनलगायतका क्षेत्रमा अपार सम्भावना रहेकाले वैदेशिक लगानीका लागि नेपाल खुला रहेको बताए ।
सम्मेलनमा एसियाली पूर्वाधार लगानी बैंक (आइआइबी) का अध्यक्ष जिन लिक्विनले नेपालमा ऊर्जा र प्राकृतिक क्षेत्रमा लगानी गर्ने बताए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले वैदेशिक लगानीका लागि उपयुक्त अवसर भएकोमा जोड दिए । सम्मेलनलाई भारतका वित्तमन्त्री अरुण जेट्लीले सम्बोधन गरेका छन् ।
सम्मेलनमा चीन, भारत, बङ्गलादेश, श्रीलङ्का, सिंगापुर, हङकङ, मलेसिया, अमेरिका, रुस, क्यानाडालगायत दुई दर्जन मुलुकका २५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ता सम्मेलनमा सहभागी छन् ।
नेपालमा सन् १९९२ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले पहिलो पटक वैदेशिक लगानी भित्राउन अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो ।रासस