दक्षिण एशियाका सांसदहरूको बैठक काठमाडौंमा शुरु
दक्षिण एशियाका बालबालिकाको समग्र अवस्था र अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको दक्षिण एशियाली मुलुकका सांसदहरुको बैठक शुरु भएको छ ।
युनिसेफको दक्षिण एशिया नेपाल कार्यालयको आयोजना र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको सहकार्यमा सुरु गरिएको बैठकमा नेपाल, भारत र बङ्गलादेशलगायत विभिन्न देशका बालबालिकासँग सरोकार राख्ने सांसदको उपस्थिति रहेको छ ।
व्यवस्थापिका संसद अन्तर्गतको समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाले दक्षिण एशियाका बालबालिकाको समृद्धि र विकासका लागि ती देशका सांसदहरूले गरिरहेको पहलका बारेमा कुराकानी गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको जानकारी दिइन् ।
एशियाली मुलुकमा बालमृत्युदर साझा र एउटा प्रमुख समस्याका रूपमा रहँदै आएको छ । संसारमा पाँच वर्षमुनिका बालबालिकाको धेरै मृत्यु हुने देशहरुको सूचीमा नेपाल ६३ औँ स्थानमा छ ।
युनिसेफका लागि दक्षिण एशियाली निर्देशक जिन गोगले दक्षिण एशियाका अधिकांश मुलुकमा कुल गार्हस्थ्य उत्पादनको तुलनामा कर कम उठ्ने हुँदा पर्याप्त मात्रामा स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षाजस्ता क्षेत्रमा लगानी गर्न सक्ने अवस्था नरहेको बताए ।
अझै पनि दक्षिण एशिया क्षेत्रका तीन करोडभन्दा धेरै बालबालिका विद्यालयभन्दा बाहिर छन् ।
रासस