उद्योगलार्इ पुँजी वृद्धिको अनुमति
उद्योग मन्त्रालयले विभिन्न उद्योगको पुँजी वृद्धि गर्ने तथा उद्योग सञ्चालनको म्याद थप्ने सम्बन्धमा नीतिगत व्यवस्था गर्ने निर्णय गरेको छ ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा १८ फागुनमा बसेको उद्योग तथा लगानी प्रर्वद्धन बोर्ड बैठकले नयाँ औद्योगिक व्यवसाय ऐन आएपछि अनुमति लिर्इ सञ्चालनमा नआएका उद्योगको म्याद थप्ने विषयमा कानुनी राय लिने निर्णय गरेको हो ।
उद्योग विभागका अनुसार हाल अनुमति लिएर सञ्चालनमा नआएका एक हजारभन्दा बढी उद्योग रहेका छन् । नयाँ ऐनमा उद्योग दर्ता भएको एक वर्षभित्र अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।
त्यसै गरी बैठकले सोल्टी होटलको पुँजी वृद्धि स्वीकृति दिएको छ । जसअनुसार सोल्टी होटेलमा थप रु एक अर्ब ७३ करोड ८६ लाख लगानी हुनेछ । अर्घाखाँची सिमेन्ट प्रालि नामक उद्योगमा पुँजी एकीकृत गर्न स्वीकृत दिएपछि रु तीन अर्ब पुँजी पुगेको छ । लाङ्टाङ भोटेकोसी हाइड्रोपावरमा रु १७ अर्ब ४९ करोड पुँजी वृद्धि भएको छ भने ९७ मेगावाटबाट क्षमता वृद्धि भई १२० मेगावाट पुर्याइने भएको छ । सर्वोत्तम सिमेन्ट प्रालिमा रु तीन अर्ब ९८ करोड थप लगानी गर्न अनुमति दिइएको छ भने सिनो हाइड्रो सगरमाथा पावर कम्पनी प्रालिमा रु तीन अर्ब ४० करोड थप लगानी दिने निर्णय गरेको छ । त्यस्तै बैठकले श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको तीन लाख २० हजार जगेडा सेयरमा मौरिससको लगानी गर्न स्वीकृत निर्णय गरेको छ ।
त्यसै गरी विदेशी लगानी भित्र्याउँदा नेपाल राष्ट्र बैङ्कले तोकेको मापदण्डअनुसार नै हुनुपर्ने र निर्णय गरेको उद्योग मन्त्रालयले जनाएको छ ।