एमालेको अभियानलाई लक्षित गरी मोर्चाद्वारा आन्दोलन घोषणा
नेकपा एमालेले शुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानलाई लक्षित गर्दै मधेशी मोर्चा सप्तरीले आन्दोलन घोषणा गरेको छ ।
१८ फागुनमा राजविराजमा बसेको सप्तरी मोर्चाको बैठकले एमालेको अभियानलाई लक्षित गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
एमालेको अभियान २१ फागुनमा झापादेखि प्रारम्भ भई २३ फागुनमा सप्तरी आइपुग्ने तय भएपछि मोर्चाले सोही दिनलाई लक्षित गरी आन्दोलन घोषणा गरेको हो ।
मोर्चा सप्तरीले २३ फागुनमा जिल्लाभर चक्काजाम गरी बिहानैदेखि लाठी जुलुस प्रदर्शन गर्ने निर्णय गरेको छ ।
मोर्चाले १९ फागुनदेखि नै विरोध स्वरुप आ–आफनो, घर तथा सवारी साधनहरुमा कालो झण्डा राख्ने, प्रमुख हटिया तथा बजारहरुमा कोण सभा गरी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको मोर्चाका जिल्ला संयोजक एवं संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादवले बताए ।
२२ फागुनमा सप्तरीको प्रमुख स्थान कन्चनपुर, भारदह, हनुमान नगर, राजविराज, सखडा, पत्थरगडा, पातो, रुपनी, कठौना, विष्णुपुर र वोदे वर्साईन सहितको स्थानहरुमा मसाल जुलुस प्रदर्शन गरी २३ गते सप्तरीमा चक्काजाम गर्ने मोर्चा संयोजक यादवले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
मधेश आन्दोलनका बेला भएका हत्याका फोटो र ब्यानर समेत प्रदर्शन गर्ने मोर्चाले जनाएको छ ।
श्रवणकुमार देव, राजविराज