निर्वाचनबारे छलफल गर्न बसेको सत्तारुढ दल र मोर्चाको बैठक निष्कर्षविहिन
सत्तारुढ दलहरु र मधेशी मोर्चा बीच स्थानीय निर्वाचनबारे छलफल गर्न भएको बैठक विना निष्कर्ष टुंगिएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री दाहालले मधेशमा स्थानीय तहको संख्या बढाउनेबारे दलहरुबीच सैद्धान्तिक सहमति भइसकेको र संविधान संशोधन प्रस्ताव पारित गराउन प्रयत्न गरिरहेको भन्दै मोर्चालाई निर्वाचनमा भाग लिन आग्रह गरेका थिए ।
उनको भनाईमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत सहमति जनाएका थिए । तर, मोर्चाका नेताहरुले भने यथास्थितिमा निर्वाचन जान नसकिने भन्दै पहिले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित हुनुपर्ने अडान छोडेनन् ।
यद्यपि बैठकमा संवाद जारी राख्ने र एकदुई दिनमा फेरि छलफल गर्ने सहमति भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, संघीय समाजवादी फोरमका नेता अशोक राई, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत सहभागी थिए ।