विराट एक्सपोमा ४९ करोडको कारोबार
विराटनगरमा ‘नुनदेखि सुनसम्म’ भन्ने नारा दिएर ११–१७ फागुनमा सञ्चालन भएको विराट एक्स्पो कृषि तथा औद्योगिक प्रर्दशनीमा रु.४९ करोड बराबरको कारोबार भएको छ ।
विराट एक्सपो आयोजना गर्न रु.१ करोड १५ लाख खर्च भएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । प्रदर्शनीको ३ लाख भन्दाबढीले दर्शकले अवलोकन गरेको उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्यायले बताए ।
प्रदर्शनीमा भारत, चीन र बंगलादेशका सहित २७० स्टल राखिएका थिए । प्रदर्शनीमा सहभागि विदेशी उद्योगी, व्यवसायीले अर्को पटक पनि सहभागिता जनाउने वाचा गरेको संगठनका कार्यक्रम संयोजक सोम अधिकारीले जानकारी दिए ।
प्रदर्शनीमा हेलिसीटी टुर र माउण्टेन ङ्खलाइट संचालन गरिएको थियो । हेलिकप्टरबाट विराटनगर अवलोकन गर्ने व्यवस्था गरिएको थियो । हेलिसीटी टुरका संचालक पुण्य भट्टराइका अनुसार, ३५ उडान मार्फत २०० जनाले आकाशबाट विराटनगर अवलोक गरेका थिए ।
प्रदर्शनीमा उद्योगतर्फ प्रार्थना अगरबत्ती, महिलातर्फ स्वीट टुथ बेकरी र घरेलुतर्फ कृषि औजार प्रर्दशनी गरेको कुवेर एण्ड सन्सलाई उत्कृष्ट घोषण गरिएको छ । संगठनले २०५३ देखि प्रदर्शनी गर्दै आएको छ ।
कमल रिमाल, विराटनगर