एनआईसी एसिया बैङ्कको विपन्न वर्ग कर्जा शुरु
एनआईसी एसिया बैङ्क लिमिटेडले ग्रामीण भेगमा रहेका किसानहरूलाई वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले विपन्न वर्ग कर्जा सुरुवात गरेको छ ।
कैलालीको अत्तरियामा “वित्तीय जागरण, राष्ट्रिय अभियान” कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले बैङ्कको अत्तरिया शाखाका ग्राहक कुमारी दमाईलाई कुखुरा पालन व्यवसाय गर्न सात लाखको कर्जा स्वीकृत पत्र हस्तान्तरण गरी उक्त विपन्न वर्ग कर्जा सेवाको शुभारम्भ गरेका हुन् ।
सोही कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मण रिसालले नेपाल राष्ट्र बैङ्कले तोकेको विपन्न वर्गमा लगानी गर्नुपर्ने २ प्रतिशत प्रत्यक्ष लगानी यसै आर्थिक वर्षको अन्तसम्ममा पुर्याउने गरी सबै कार्यविधिहरु पुरा गरिसकेको र ग्रामीण भेगका साना किसान लघु उद्यमी-व्यवसायीमा सरल सहज वित्तीय पहुंँचका लागि सेवा सुरुवात गरिएको बताए ।
यो सेवाबाट ग्रामीण भेगमा केही गरौँ भन्ने सीप र जाँगर भएका तर व्यवसाय गर्न पुँजीको अभाव भएका साना व्यवसायी, किसान एवं महिलाहरूलाई बैङ्कका सबै शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिने बैङ्कले जनाएको छ ।