उपत्यकाका नौ क्याम्पसमा स्ववियु निर्वाचन शुरु
त्रिविले काठमाडौँ उपत्यकाका नौ आङ्गिक क्याम्पसमा आज स्ववियु निर्वाचन शुरु गरेको छ ।
विश्वविद्यालय अन्तर्गत निर्वाचन समितिका संयोजक गङ्गा थापाका अनुसार जनप्रशासन क्याम्पस, आयुर्वेद क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस, सानोठिमी क्याम्पस, भक्तपुर क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र शहीद आदर्श क्याम्पसमा बिहान ९ बजेदेखि निर्वाचन शुरु भएको हो । मतदान साँझ ४ बजेसम्म हुने छ ।
त्यसैगरी काठमाडौँ उपत्यका बाहिरका १५ आङ्गिक क्याम्पसमा पनि आज निर्वाचन भइरहेको छ ।
नेविसङ्घ, अनेरास्ववियु (क्रान्तिकारी)लगायत विद्यार्थी सङ्गठनले अन्य क्याम्पसमा ताल्चा लगाएकाले निर्वाचन हुन बाँकी छ ।
काठमाडौँ उपत्यका तथा बाहिरका क्याम्पसमा विद्यार्थी सङ्गठनसँग समन्वय गरी निर्वाचन गरिने त्रिविले जनाएको छ ।
करिब आठ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले ‘अनेरास्ववियुका वर्चस्व रहेका अधिकांश क्याम्पसमा अन्य सङ्गठनले अवरोध गरेका कारण’ चुनाव हुन नसकेको दाबी गर्दै वार्ता गरी चाँडो निर्वाचन गराउने वातावरण बनाउन विद्यार्थी सङ्गठनहरुसँग आग्रह गरे ।
रासस