सिल्क रोडमा सहमति जनाउन नेपाललाई चीनको आग्रह
क्षेत्रीय समृद्धिका लागि अगाडि बढाइएको सिल्क रोड अभियानमा सहमति जनाउन नेपालसँग चीनले आग्रह गरेको छ ।
नेपाल–चीन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १४ औँ वार्षिक साधारणसभामा चिनियाँ पक्षले आज क्षेत्रीय सञ्जाल (रिजनल कनेक्टेभिटी) तथा सिल्क रोडमा सहमतिका लागि प्रस्ताव गरेको हो ।
चीनले अगाडि बढाएको सिल्क रोड अभियानमा सय मुलुकले चासो व्यक्त गरेको र ४० वटा मुलुकले समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जनाइएको छ ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर नेपालले चीनसँगको व्यापारलाई विस्तार गर्ने बताएका छन् ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यू होङले भनिन्, “सिल्क रोडअगाडि बढाउन नेपालसँग आग्रह गर्दछु ।” उनले क्षेत्रीय समृद्धिका लागि चीनले अगाडि बढाएको अभियानमा नेपालको पनि साथ रहने विश्वास व्यक्त गरिन् ।
चीनले नेपालसँग विकासका क्षेत्र जलविद्युत्, हवाई, निर्माण एवम् प्रसारण लाइनजस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै राजदूत होङले चीनको सहयोग निरन्तर जारी रहने बताइन् ।
पूर्वसचिव पुरुषोत्तम ओझाले मुलुकको समृद्धिका लागि नेपाल सिल्क रोडको सञ्जालमा जानुपर्ने बताउँदै त्यसका लागि चिनियाँ एवम् नेपाली पक्षले विशेष ध्यान दिएर आर्थिक क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए ।
नेपाल–चीन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष राजेशकाजी श्रेष्ठले सन् १९९९ मा स्थापना गरिएको चेम्बरले चीनका २९ वटा चेम्बरसँग द्विपक्षीय सम्झौता गरेको र व्यापारिक प्रवद्र्धनका लागि लागिपरेको बताए ।
रासस