चार दिनदेखि हवाइ उडान अवरुद्ध
मौसम खराबीका कारण चार दिनदेखि पर्यटकीय बजार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल साेलुखुम्बुमा हवाइ उडान अवरुद्ध भएको छ ।
बाक्लो कुहिरोका कारण भिजिविलिटी कम हुँदा उडान हुन नसकेको विमानस्थल स्रोतले जनाएको छ । सगरमाथा क्षेत्रको भ्रमण सकेर फर्कन लागेका करिब एक सय विदेशी पर्यटक लुक्लामै रोकिएका छन् ।
पर्यटकीय मौसम सुरु भइसकेको अवस्थामा नियमित उडान अवरुद्ध हुँदा पर्यटक तथा स्थानीय व्यवसायी प्रभावित भएका छन् । अहिले सबै विमान कम्पनीका गरी दैनिक १०/१२ वटासम्म उडान तालिका हुने गरेकामा सबै उडान प्रभावित भइरहेको तारा एअर फाप्लुका इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए ।
रासस