अन्तर्वार्ता/विचारमंगलवार, फाल्गुण १७, २०७३

नेपालमा नयाँ शक्तिको भविष्य

पुरञ्जन आचार्य

केही वर्षयता नेपालमा नयाँ शक्तिको विषयमा छलफल भइरहेको छ । पुरानो पार्टी, विचार र नेताहरूले अपेक्षित ‘डेलिभरी’ दिन नसकेपछि निराश शिक्षित तथा परिवर्तन चाहनेहरू नयाँ शक्तिको वकालत गरिरहेका देखिन्छन् । नयाँ विकल्प भने अहिलेको भन्दा पनि झनै अन्योलपूर्ण छ ।

खासगरी अरविन्द केजरिवालको आम आदमी पार्टी (आप)ले नयाँदिल्लीमा पाएको सफलतापछि नेपालमा नयाँ शक्तिका पक्षधरहरू हौसिएका देखिन्छन्, तर त्यहाँको र यहाँको सन्दर्भ तथा धरातलीय यथार्थ विल्कुलै फरक छ ।

भारतमा क्षेत्रीय पार्टीहरूले मूलधारका पार्टीहरुलाई चुनौती दिंदैआएका छन्, जस्तो– ममता बनर्जीको अल इण्डिया त्रिणमुल कंग्रेस ।

केजरिवालको आप स्थापनाको पृष्ठभूमि फरक छ । त्यो पार्टी गठन हुनुभन्दा पहिला भ्रष्टाचारविरोधी ठूलो अभियान चल्यो ।

अन्ना हजारेको सत्याग्रही अभियानदेखि रामदेवले रामलीला मैदानमा गरेको धर्नासम्मले ल्याएको उथलपुथलबीच आप आएको हो । केजरिवाल आफैं पनि भ्रष्टाचारविरोधी अभियानमा सक्रिय थिए ।

नयाँ शक्ति पार्टीको संयोजक बनेका बाबुराम भट्टराई पूर्वप्रधानमन्त्री हुन् । उनी माओवादी लडाइँबाट आएका हुन् । उनको पृष्ठभूमि माक्र्सवाद, लेनिनवाद, माओवाद हो ।

यद्यपि, उनले हिजो अंगिकार गरेको विचार किन खराब थियो भनेर भन्न सकेका छैनन् ।

१७ हजार जनाको ज्यान लिएको हिंसात्मक द्वन्द्वको नेतृत्व गरेका भट्टराईले नयाँ शक्तिमा लाग्नुको कारण प्रष्ट्याएका छैनन् ।

त्यसो त, एसएलसीमा बोर्ड फस्ट भएको व्यक्तिले खोलेको पार्टीमा जनता ह्वारह्वार्ती आँउदारहेनछन् भन्ने उदाहरण पनि उनको नयाँ शक्ति नै हो ।

नेपालमा नयाँ शक्ति आवश्यक नै छ । नयाँ शक्तिको अगाडि चुनौतीको पहाड पनि छ । अहिले मुलधारमा रहेका पार्टीहरु लामो इतिहास र त्याग–तपस्याबाट बनेका हुन् ।

त्याग गरेकालाई विश्वास गर्नुपर्छ भन्ने हाम्रो सामाजिक मान्यता पनि छ । यिनको नेतृत्व अक्षम भए पनि लोकतन्त्र त्याग्दैन भन्नेमा जनता विश्वस्त छन् ।

नेपाली कांग्रेस विराटनगर (जुटमील आन्दोलन), नेकपा एमाले झापा विद्रोह र माओवादी रोल्पाबाट उठेका पार्टीहरु हुन् । तर, काठमाडौंबाट शुरु गरेको प्रजा परिषद् असफल भयो । काठमाडौंमा स्वार्थ समूहको बोलबाला छ ।

भ्रष्टाचार र विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय गैससको केन्द्र पनि काठमाडौं नै हो । मात्र २४ घण्टा भ्रष्टाचार रोेक्ने हो भने काठमाडौंको रमझम ठप्प हुन्छ ।

यी सब कारणहरुले गर्दा काठमाडौंबाट नयाँ शक्ति उठ्न नसक्ने संभावना ९० प्रतिशतभन्दा बढी छ ।

२०६४ सालमा ‘अरुलाई हेर्‍यौं पटकपटक, हामीलाई हेर्नुस् यसपटक’ भन्ने माओवादीको नाराले धेरैलाई आकर्षित गर्‍यो ।

त्यो बेला माओवादीले पाएको भोटलाई जनताले ‘टेस्ट चेन्ज’ खोजेको भन्न सकिन्छ । तर माओवादीले जनतालाई निराश पार्ने काम कांग्रेस र एमालेले भन्दा छिटो गर्‍यो ।

नयाँ शक्तिप्रति जनताको विश्वास नहुनुको एउटा कारण यो पनि हो ।

नयाँ शक्ति खोल्न लागिपरेका साथीहरुले भ्रष्टाचारको विरोध र सदाचारको पक्षमा व्यावहारिक रुपमै काम गरेर नदेखाएसम्म जनताले विश्वास गर्लान् जस्तो लाग्दैन ।

ठूलो पार्टीलाई भोट दिंदा नै ‘सुरक्षा’ महसूस गर्ने जनता नयाँ शक्तिमा जानु भनेको ‘कमफर्ट जोन’बाट ‘अनकम्फर्ट जोन’मा जानु हो ।

व्यक्तिगत रुपमा पनि चुनौतीको सामना गर्नु हो । सामाजिक–आर्थिक–मानसिक सुरक्षा छोडेर नयाँ विकल्प रोज्ने जमात ठूलो होला जस्तो लाग्दैन ।

धेरै ठूलो उथलपुथल भएको अवस्था हो भने बेग्लै कुरा !
(राजनीतिक विश्लेषक आचार्यसँगको वार्तामा आधारित)

प्रतिकृया दिनुहोस