आईजीपी नियुक्ति मुद्दाको सुनुवाइ हुँदै
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलाशमा आईजीपी नियुक्ति सम्बन्धी मुद्दा राखिएको छ । सर्वोच्च अदालतले १७ फागुनको दैनिक पेसीको सूचिमा न्यायाधीश द्वय कार्की र केसीको संयुक्त इजलाशको सुनुवाइको पहिलो मुद्दा आईजीपी नियुक्तिसम्बन्धी रहेको छ ।
११ र १२ फागुनमा बहस नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको आईजीपी नियुक्तसम्बन्धी मुद्दाको सुनुवाइ आजलाई सारिएको थियो ।
मन्त्रीपरिषदले डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेपछि अर्का डीआईजी नवराज सिलवालले त्यस विरुद्ध १ फागुनमा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । त्यस्तै अधिवक्ता कपिलदेव ढकालले २८ माघमा नियुक्ती नगर्न आदेश माग गरि रिट निवेदन दायर गरेका थिए भने उनले नै ८ फागुनमा नियुक्तीका विरुद्ध पुरक रिट दायर गरेका थिए ।
मुख्य न्यायाधीश सुशीला कार्कीको १ फागुनको एकल इजलासले ‘अल्पकालिन अन्तरिम आदेश’ जारी गरेको थियो । त्यसपछि अन्तरिम आदेश दिने/नदिने सम्बन्धी बहसका लागि तीनवटै रिट पेशीमा राखिएपनि ८ फागुनमा बहस हुन सकेन भने ११ र १२ फागुनमा भएको बसहमा समय नपुगेपछि १७ फागुनका लागि सारिएको थियो ।