रिपोर्टसोमवार, फाल्गुण १६, २०७३

सडकमा अपहत्ते

सविता श्रेष्ठ

जथाभावी बाटो काट्दै यात्रु ।                                                          तस्वीरहरुः बिक्रम राई

सुर्खेतको भेरीगंगा–६ की मैती डाँगी (६७) को ना ४ ख ६१३५ नम्बरको बसबाट छिन्चु बजारमा ओर्लंदा पछाडिको चक्काले किचेर मृत्यु भयो । रूपन्देहीको देवदहबाट फलामको ट्यांकी लोड गरेर लैजाँदै गरेका ग १ ख ७००१ नम्बरको ट्रक चालक कृष्ण अर्याल (२५) ट्यांकी बाँधिएको डोरी चुँडिएर च्यापिंदा गम्भीर घाइते भए । उपचार भए पनि उनी बाँचेनन् । त्यस्तै, बाराको कोल्बी–८ मा ना २ ख १९४३ नम्बरको बसले ठक्कर दिंदा पैदल यात्रु सोहन महतो (३५) को घटनास्थलमै मृत्यु भयो भने दाङको लमही–४ श्रीगाउँमा भे १ च १०८९ नम्बरको बलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु र पाँच जना घाइते भए ।

हदै लापरबाहीको उदाहरण बनेका यी चार दुर्घटना गत २९ माघमा भएका हुन् । नेपालमा दैनिक सरदर २७ वटा दुर्घटना भएर ६ जनाको मृत्यु हुने गरेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म (६ महीना) मा भएका ४ हजार ९३५ दुर्घटनामा ११ सय ५२ जनाको ज्यान गयो भने २ हजार ४४ गम्भीर र ४ हजार २० जना सामान्य घाइते भएको प्रहरी तथ्यांक छ ।

घरबाट सडकमा निस्कने बित्तिकै मानिस दुर्घटनाको जोखिममा पर्छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार प्रति एक लाख नेपालीमा १७ जनाको दुर्घटनाबाट ज्यान जाने गरेको छ । नेपालमा सडक दुर्घटना मृत्युको चौथौं प्रमुख कारण बनेको छ । मानवीय र यान्त्रिक कमजोरी तथा सडक र मौसमको खराब अवस्थालाई सवारी दुर्घटनाको कारक मानिन्छ । करीब ८७ प्रतिशत दुर्घटना तीव्र गति, ओभरटेक, लेन अनुशासन उल्लंघन, ओभरलोड, तनाव वा थकानमा काम, जथाभावी यात्रु चढ्ने–ओर्लने, जथाभावी सडक काट्ने, मादकपदार्थ सेवन गरेर गाडी चलाउने लगायतका मानवीय गल्तीका कारणले हुने गरेका छन् ।

सबैलाई हतार मात्र

ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु घरबाट सडकमा निस्कनासाथ मानिसहरू बुझ्निसक्नुको हतारमा देखिने बताउँछन् । उनका अनुसार, हतारमा कुद्ने र सडकमा पालना गर्नुपर्ने नियम उल्लंघन गर्ने आम चलन दुर्घटनाको कारक बनिरहेको छ । सवारी चालकलाई ‘किन ट्राफिक नियम मिचेको ?’ भनेर सोध्दा अधिकांशले ‘हतार छ’ वा ‘हतार थियो’ भन्ने उत्तर दिने गरेको इन्स्पेक्टर हाछेथु बताउँछन् ।

पैदल यात्रुहरू आकाशे पुल भएको ठाउँमा पनि तलैबाट सडक पार गरिरहेका हुन्छन् । बढीमा एकमिनेट लाग्ने आकाशे पुल र पाँच कदम परको जेब्राक्रसिङ छाडेर जथाभावी सडक काट्न उद्यत हुनु काठमाडौंवासीको सजायलायक विशेषता भएको हाछेथु बताउँछन् । “पैदल यात्रुहरू तीनकुने–कोटेश्वर सडकमा बडेमाको रोड डिभाइडर नाघिरहेका देखिन्छन्”, इन्स्पेक्टर हाछेथु भन्छन्, “आफ्नै सुरक्षाको लागि एकमिनेट पनि खर्चन नमिल्ने कत्रो हतार !”

मानवशास्त्री डिल्लीराम दाहाल गफ गरेर घन्टौं बिताउन सक्नेहरू सडकमा आउने बित्तिकै हतारमा कुद्ने गरेको बताउँछन् । जबकि, यति हतारमा पुग्नुपर्ने गरिको दैनिकीमा नेपाली पुगिनसकेको उनको विश्लेषण छ । चालकहरू पनि त्यस्तै हतारमा हुन्छन् । उनीहरू जेब्राक्रसबाट सडक काट्न लागेका यात्रुलाई समेत हर्न बजाइरहेका हुन्छन् । गोरखाकी शिवा देवकोटा २४ माघमा कलंकी मकालु पम्प नजिक रोकिएको बसमा चढ्न लागेकी थिइन् । त्यत्तिकैमा चालकले बस गुडाउँदा ठोक्किएर ५४ वर्षीया देवकोटाको मृत्यु भयो । चालकले यात्रु चढ्दा–ओर्लंदा हतार नदेखाए यस्ता दुर्घटना हुँदैनन् ।

लापरवाहीको हद

पैदलयात्रु, गाडी, मोटरसाइकल, साइकल, रिक्सा, ठेला आदिले प्रयोग गर्ने सडक छेउमा टेलिफोन र केबलका तारहरू जथाभावी लत्रिरहेका हुन्छन् । निर्माण सामाग्री पनि सडकमै थुपारिएको हुन्छ । पार्किङ र व्यापार–व्यवसायको थलो पनि सडकलाई बनाइएको देखिन्छ । यी सब दुर्घटना बढाउने कारक बनेको २४ वर्षयता राजधानीको ट्राफिक व्यवस्थापनमा खटेका इन्स्पेक्टर हाछेथु बताउँछन् ।

यातायात व्यवस्था विभागका अनुसार, गत साउनसम्म नेपालमा २३ लाख ४९ हजार १६९ सवारीसाधन दर्ता भएका छन् । २०४८ सालमा करीब ५० हजार गाडी भएको उपत्यकामा अहिले ९ लाखभन्दा बढी सवारी साधन गुडिरहेका छन् । २५ वर्षअघि १० लाख मानिस बस्ने उपत्यकामा अहिले ४० लाखको आवादी छ । इन्स्पेक्टर हाछेथुका अनुसार, अहिले चक्रपथका प्रमुख चोकहरूमा प्रति मिनेट ५२ वटा चारपाङ्ग्रे र ७० वटा मोटरसाइकल पार हुन्छन् ।

२५ माघको बिहान भक्तपुरको गट्ठाघरमा बा ७७ प ६५४७ नम्बरको स्कूटर रोड डिभाइडरमा ठोक्किंदा दुई जना घाइते भए । प्रहरीका अनुसार, बिहान साढे ४ बजेको समयमा चालकले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका थिए । पछिल्लो ६ महीनामा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने १८ हजार ६७० जना कारबाहीमा परेका छन् । मादक पदार्थ खाएर सवारीसाधन चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको पनि पाँच वर्ष पुगिसकेको छ । र पनि, नियम पालना नगर्ने यत्रो संख्या हुनुले लापरवाहीको हद देखाउँछ ।

ट्राफिक प्रहरीले गौंडा–गौंडामा उभिएर खबरदारी गर्दा पनि लेन मिचेको, ढोका खुल्लै राखेको, सीटबेल्ट नबाँधेको, हेलमेट नलगाएकोे, जहाँ पायो त्यहीं यात्रु चढाएको वा ओरालेको, ओभर लोड गरेको, मोबाइल फोनमा कुरा गर्दै गाडी चलाएको जस्ता दृश्य जताततै देखिन्छन् । उपत्यकामा प्रति घन्टा ६० किलोमिटर भन्दा बढी गतिमा चलाउन नमिल्ने गरिको सवारी साधनको चाप छ, तर तीव्र गति सडक दुर्घटनाको दोस्रो प्रमुख कारण बनेको छ । लेन पालना नगरी ‘ओभरटेक’ गरेको दृश्य सामान्य बनेको छ । “पैदलयात्रु पनि उस्तै छन्”, ट्राफिक इन्स्पेक्टर हाछेथु भन्छन्, “पाँच जना छोराछोरी बोकेर हिंडेका मोटरसाइकल चालकलाई सम्झउँदा उल्टै बाझछन् ।”

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्ल चालकहरू सचेत हुनासाथ सडक दुर्घटनामा ८० प्रतिशत कमि आउने बताउँछन् । तर, चालकको सीटमा बस्नेको लापरबाहीले पैदल यात्रुको समेत जीवन जोखिममा परेको उनको भनाइ छ । “ट्राफिक प्रहरीले नदेखेसम्म सडकमा नियम उल्लंघन गर्ने मनोवृत्ति चालक र पैदल यात्रुहरूमा समेत देखिन्छ”, एसपी मल्ल भन्छन्, “यो त अटेरीपन र लापरबाहीको पनि हद हो ।”

संस्कार निर्माण

सडक दुर्घटनामा वृद्धि भनेको अकाल मृत्युसँगै पीडितको संख्या पनि बढ्नु हो । सामान्य क्षति हुने स–साना दुर्घटनाको पीडाले पनि मानिसलाई लामो समयसम्म पिरोल्न सक्छ । त्यही कारण, विश्वका धेरै देशमा ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स रद्ददेखि कैद सजायसम्म गरिन्छ । १० वर्ष मुनिका बालबालिकालाई गाडीको अघिल्लो सीटमा राख्न पाइँदैन । मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्छ ।

नियम उल्लंघन गर्दा कम जरिवाना हुने देशमा पर्ने नेपालमा भने हेल्मेट नलगाउनु वा ट्याङ्कीमा बालबच्चा राखेर मोटरसाइकल चलाउनु सामान्य भएको छ । मानवशास्त्री दाहाल संस्कार भनेको शिक्षा र कानूनी व्यवस्थामा निर्भर रहने हुनाले अब विद्यालय तहको पाठ्यक्रमबाटै ट्राफिक सचेतना विस्तार आवश्यक भएको देख्छन् । सार्वजनिक सवारी साधनमा यात्रु सुरक्षाको दायित्व चालकमा हुने र पैदल यात्रुको लापरबाहीले गाडीमा सवार मानिसहरूको समेत ज्यान जान सक्छ भन्ने बोध गराउन विधिवत् शिक्षा नै चाहिएको उनी बताउँछन् । “त्यो नहुँदा मानिसहरूले सडकमा गर्ने त्रुटिलाई संस्कार नै बनाएका छन्”, दाहाल भन्छन्, “कारबाहीमा पर्छु भनेर मात्र होइन, आफ्नै सुरक्षाको लागि पनि सडकमा नियम पालना गर्ने संस्कार बसाउनुप¥यो ।”

नेपालमा आवश्यक भौतिक पूर्वाधारको कमि त छँदैछ, पैसाको भरमा चालक अनुमति पत्र पाइने र गाडीको अवस्था ठीक नभए पनि सडकमा निकाल्ने परिपाटीले पनि नेपालको सडक दुर्घटना बढाएको मानिन्छ । त्यसमाथि, जानाजान ट्राफिक नियम उल्लंघन गर्नेलाई अन्य देशको तुलनामा कम सजाय हुने भएकोले पनि सडकमा अराजकता बढेको यस क्षेत्रका विज्ञहरू बताउँछन् । 

प्रतिकृया दिनुहोस