अमेरिकामा नेपाली विषयको पढाइ
संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ ।
वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई पनि सूचीकृत गरेको बताए ।
हाल नेपाल भ्रमणमा रहेका आयुक्त गुरुङका अनुसार वासिङ्टन सरकारको उक्त निर्णयले त्यहाँका शैक्षिक संस्थामा हाललाई उच्चमाध्यमिक तहमा नेपाली विद्यार्थीका लागि नेपाली विषय अध्ययनको सुरुवात भएको छ ।
आयुक्त गुरुङले उक्त कार्यले अमेरिकामा बस्ने भावी नेपाली पुस्ताले नेपाली भाषा पढ्न, जान्न पाउने र नेपाली भाषा संस्कृतिको जगेर्ना हुनुको साथै अमेरिकाका अन्य राज्यमा पनि नेपाली भाषा अध्ययनका लागि दबाब बढ्ने बताए ।
वासिङ्टन राज्यमा हाल १० हजारभन्दा बढी नेपाली भाषी छन् जसमध्ये छ हजार भुटानी शरणार्थी रहेका छन् भने करिब पाँच हजार नेपाली रहेको गुरुङले बताए ।
रासस