गंगामायाको संघर्षमा जर्मनीका सांसदको ऐक्यवद्धता
नेपाल भ्रमणमा आएका जर्मनीका सांसदले गंगामाया अधिकारीलाई भेटेर न्यायका लागि उनले गरिरहेको संघर्षलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने बताएका छन् ।
जर्मनीको ग्रिन पार्टीका प्रवक्तासमेत रहेका सांसद नुरीपोर आज वीरअस्पताल पुगी गंगामायाले न्यायका लागि गरिरहेको संघर्षलाई सफल बनाउन अन्तर्राष्ट्रियस्तरमा आवश्यक पर्ने सहयोगका लागि प्रतिबद्धता समेत व्यक्त गरेका हुन् ।
उक्त भेटमा गंगामायाले आफूले शान्तिपूर्ण रूपमा न्यायको संघर्ष गरेको भन्दै सबैले सहयोग गर्ने आश्वासन दिएपछि भोक हडताल त्यागेको बताएकी थिइन् ।
उनले आफ्नो छोराका हत्यारालाई कारवाही होओस भन्ने मात्र चाहेको बताइन् ।
सांसद नुरीपोरले गंगामायाले न्यायका लागि गरिरहेको संघर्ष सफल हुने आशा व्यक्त गर्दै उनले हिंसाको विरोधमा शान्तिपूर्वक गरेको संघर्ष उदाहरणीय भएको बताए ।
भेटमा जर्मनी दूतावासका अधिकारीहरु र नेपाली मानवअधिकारकर्मीहरुको उपस्थिति थियो ।
गोरखा फुजेलका गंगामायाका छोरा कृष्णप्रसाद अधिकारी हजुरबुवा भेट्न चितवन पुगेका बेला तत्कालीन माओवादीले १४ जेठ २०६१ मा अपहरणपछि हत्या गरेका थिए ।
हत्यामा संलग्नहरूमाथि कारबाही हुनुपर्ने माग राख्दै भोक हडतालमा रहेका बेला गंगामायाका पति नन्दप्रसादको दुई वर्ष अघि मृत्यु भइसकेको छ ।
नन्दप्रसादको शव अझै त्रिवि शिक्षण अस्पतालमा छ ।