संशोधन प्रस्ताव पारित हुन दिन्नौँ: केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा छलफलमा रहेको संविधान संशोधन प्रस्ताव पारित गर्न नदिइने दोहोर्याएका छन् ।
एमाले केन्द्रीय कार्यालय धूम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधन राष्ट्र हितमा नरहेको दाबी गरे ।
“राष्ट्रवादलाई हिमाली, पहाडिया र तराईको भनी विभाजन गर्न खोजिएको छ, यसरी राष्ट्रवादको खिल्ली उडाउन खोजिएको छ, एउटा पक्षको वकालत गर्नुलाई सन्तुलित राष्ट्रवाद भनिएको छ, हामी स्वाभिमानलाई बचाउँछौँ, भौगोलिक अखण्डतालाई सुरक्षित बनाउँछौँ”– ओलीले भने ।
कुनै पनि विषयमा तथ्य मेल खाँदैन भने त्यसलाई अन्धविश्वासका आधारमा पछि लाग्नुपर्छ भन्ने पक्षमा एमाले नरहेको उनले बताए ।
अर्को प्रसंगमा उनले नेपाली कांग्रेस र नेपाल विद्यार्थी सङ्घले चुनाव हार्ने डरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भाँड्न लागेको उनको आरोप थियो ।
“विद्यार्थी चुनावदेखि नै डराउनेले स्थानीय निकाय र संसदीय चुनाव कसरी गराउलान् ?”– ओलीले प्रश्न गरे ।
पैसा खाएर राजदूत नियुक्त गरेको विषय सार्वजनिक सञ्चारमाध्यममा आउँदा पनि सत्तारुढ दलका नेताले मुख खोल्न नसकेको अध्यक्ष ओलीले आरोप लगाए ।
रासस