नेपालमा लगानी सम्मेलन हुँदै
उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहकार्यमा आगामी १९ र २० फागुनमा 'नेपाल लगानी सम्मेलन'को तयारी गरिएको छ ।
लगानीको सम्भावनालाई उजागर गर्दै नेपाललाई लगानीको आकर्षक गन्तव्यको रूपमा स्थापित गर्न लगानी सम्मेलनको आयोजना गरिएको उद्योग मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा नेपालमा लगानीका क्षेत्रहरू, लगानी आकर्षित गर्न नेपालले अगाडि बढाएका नीति तथा प्रशासनिक एवं कानुनी आधारका विषयमा छलफल गरिनेछ । सम्मेलनमा भारतका अर्थमन्त्री अरुण जेट्ली तथा एसियाली पूर्वाधार लगानी बैङ्कका अध्यक्ष जिन लिकुनको समेत सहभागिता रहनेछ । ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।
सम्मेलनमा सहभागिताका लागि भारत, चीन, बङ्गलादेश, हङकङ, मलेसिया, फ्रान्स, जापान, अमेरिका, बेलायत लगायत दुई दर्जन मुलुकका २३५ संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले प्रतिबद्धता जनाएका छन् । त्यस्तै झन्डै तीन सय स्वदेशी लगानीकर्ता तथा नीति निर्माताहरु पनि सहभागी हुनेछन् । सम्मेलनमार्फत नेपाल सरकारले नेपाल विदेशी लगानी मैत्री रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुग्ने विश्वास लिएको छ ।