पेट्रोलियम भण्डारणको क्षमता बढाउँदै निगम
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारणका लागि ७ वटै प्रदेशमा डिपो निर्माण गर्ने भएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने नीति लिएसँगै आयल निगमले सहजताका लागि ७ वटै प्रदेशमा भण्डारण डिपो स्थपाना गर्न लागेको हो ।
डिपो निर्माणका लागि जग्गा खरिद गर्न टेन्डर आह्वान भइसकेको तर भण्डारणको लागि उपयुक्त जग्गा नपाइएको कारण प्रक्रिया ढिला हुन पुगेको आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्य प्रसाद श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार धनगढी, दाङ, भैरहवा, तनहुँ, धादिङ, चितवन, सर्लाही र झापामा आयल निगमले डिपो राख्नेछ । पेट्रोलियम भण्डारणका लागि आयल निगमले भैरहवा र चितवनमा आफैं डिपो निर्माण गर्ने तयारी गरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनलाई एउटा बनाउन दिने त्यसैगरी इन्डियन आयल कर्पोरेशन र चिनियाँ कम्पनीका साथै निजी क्षेत्रले पनि डिपो निर्माणको जिम्मा पाउनेछन् ।
आयल निगमलाई डिपो निर्माणको लागि प्रत्येक प्रदेशमा २० बिगाहा जग्गा आवश्यक पर्नेछ । आयल निगमसँग अहिले ७१ हजार किलोलिटर पेट्रोलियम पर्दाथ भण्डारण गर्ने क्षमता भएपनि पुरानो र मर्मत अभावका कारण बढीमा ३० हजार किलोलिटर मात्रै भण्डारण हुँदै आएको छ ।