क्यान्सर अस्पतालमा नयाँ चिनियाँ विशेषज्ञ टोली
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नयाँ चिनियाँ विशेषज्ञ टोली आइपुगेको छ ।
हाल रहेको टोली मार्च १ तारिखमा फिर्ता हुने तयारीसँगै नयाँ टोली आएको हो । चीन सरकारको सहयोगमा निर्माण भएको उक्त अस्पतालमा चीन सरकारले नै उच्चस्तरको विशेषज्ञ टोली शुरुवातदेखि नै पठाउँदै आएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनका अनुसार अन्तरङ्ग सेवा शुरु गरेकै वर्षबाट चीन सरकारले विशेषज्ञसहितको टोली पठाउन शुरु गरेको हो ।
गत वर्षसम्म टोली दुई/दुई वर्षमा परिवर्तन हुने गरेको भए पनि अहिलेबाट भने एक/एक वर्षमा परिवर्तन हुने गरेको छ ।
आउँदो मार्च १ तारिखबाट चिनियाँ टिम लिडर लि डोङ विनसहितको टोली चीन फर्कंदै छ भने प्लास्टिक सर्जन डा युअन हावजुन नेतृत्वको टोली नेपाल आइसकेको छ ।
करिब एक हप्ताको समयमा पुरानो टोलीले नयाँ टोलीलाई अस्पतालका कामको प्रकृति र चिनजान गराउने कार्यकारी निर्देशक पुनले बताउनुभयो । टोलीमा एकजना दोभासे, एकजना सहायकस्तरको कर्मचारी हुन्छन् भने १५ जना क्यान्सर रोगसम्बन्धी विज्ञ चिकित्सक रहने कार्यकारी निर्देशक पुनले बताए ।
टोलीमा टाउको, छाती, फोक्सो, कलेजोजस्ता महत्वपूर्ण अङ्गका क्यान्सर रोगसम्बन्धी विशेषज्ञ रहने गर्दछन् ।
अस्पतालका अध्यक्ष डा प्रकाश न्यौपानेले चीन सरकारले अस्पताल निर्माणसँगै नियमित चिनियाँ विशेषज्ञ टोली खटाउनुका साथै औषधि, उपकरण, अस्पतालमा नै र चीन लगेर चिकित्सक एवम् प्राविधिकलाई तालिम दिने गरेको बताए ।
गत वर्षमात्रै चीन सरकारले सिटिस्क्यानसहितका करोडौँका उपकरण क्यान्सर अस्पताललाई प्रदान गरेको थियो ।
अध्यक्ष डा न्यौपानेले चीन सरकारको नियमित सहयोगका कारण अस्पताल सञ्चालनमा सहयोग पुगेको बताए ।
सन् १९९८ मा चीन सरकारले निर्माण गरेको भवन हस्तान्तरणपछि सन् १९९९ बाट अस्पतालमा अन्तरङ्ग सेवा शुरु भएको हो । सन् १९९५ बाट नै डे केयर सेवा शुरु गरिएको थियो ।
रासस