कांग्रेसभित्र पौडेल पक्षको असन्तुष्टि, केन्द्रीय समिति बैठक बोलाउन माग
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय समितिको बैठक बोलाउन लिखित आग्रह गरेको छ।
कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा भएको पौडेल पक्षका नेताहरुको भेलाले संसदीय दल र केन्द्रीय कार्यसमितिको बैठक बोलाउन शनिबार साँझ देउवा समक्ष लिखित आग्रह गरेको हो ।
उनीहरुले सरकारमा पार्टीको प्रभावकारी उपस्थिति नभएको, राजदूतमा सिफारिसमा गलत व्यक्तिको चयन गरिएको भन्दै देउवाको चर्को आलोचना गरेका थिए ।
देउवालाई पठाइको पत्रमा विभिन्न नियुक्ति सिफारिसप्रति असन्तुष्टि जनाउँदै पार्टी एकलौटी ढंगले चलाएको आरोप देउवामाथि लगाइएको छ।
कांग्रेस नेता मिनेन्द्र रिजालले राजदूत सिफारिस विवाद, संविधान संशोधन, स्थानीय निर्वाचनको तयारी, सरकार सञ्चालन र भातृ संस्था जस्ता विषयमा छलफलका लागि केन्द्रीय समिति बैठक बोलाउन भनिएको बताए ।
केही साताअघि भएको प्रहरी महानिरीक्षक नियुक्तिले विवादमा आएका देउवा राजदूत सिफारिसका कारण फेरि आलोचित भएका छन् ।