वीरगञ्जः स्थानीय तहको निर्वाचन घोषणाले सर्वसाधारणमा उत्साह
सरकारले ३१ बैशाखमा स्थानीय तहको निर्वाचनकोे मिति घोषणा गरेसँगै तराई–मधेशमा उत्साह देखिएको छ ।
स्थानीय तहको निर्वाचन घोषणा भएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलहरु आन्दोलनमा गए पनि मधेशमा रहेका सर्वसाधरणमा भने उत्साहित देखिएको छ ।
लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधि बिहिन रहेका कारण सास्ती भोगेका सर्बसाधरणहरु निर्वाचन भएपछि त्यसबाट मुक्ति पाउने आशमा छन् ।
विशेष गरी सीमान्तकृत, मजदूर र ग्रामिणहरुमा अझ बढी उत्साह देखिएको छ । विकास निर्माणका काम देखि स्थानीय स्तरमा आउने विभिन्न खाले समस्याको समाधान स्थानीय चुनावपछि आउने स्थानीय नेतृत्वले गर्ने विश्वास उनीहरुको छ ।
पर्सा गम्हरियाका दिनेश साह स्थानीय निकायको चुनावले स्थानीयको अधिकार सुनिश्चितताको बाटो खुल्ने बताउँछन् ।
“अहिले कुनै समस्या पर्यो भने भन्ने ठाउँ छैन्, गाउँको समस्या समाधान गर्न सदरमुकाम सम्म आउनुपर्ने अवस्था छ,” साहले भने, “स्थानीय चुनाव भएपछि हामीले गाउँमै आफ्नो प्रतिनिधि चयन गर्छौ, गाउँमा आफ्नो कुरा राख्न पाईन्छ, विकास भएन भनेर भन्न पाईन्छ, गाउँको समस्या गाउँमै समाधान हुन्छ ।”
निर्वाचन हुने कुराले आफू उत्साहित भएको बताउँदै उनले निर्वाचनले राजनीतिक दलहरुलाई पनि जिम्मेवार बन्न प्रेरित गर्ने बताए ।
वीरगञ्जमा रिक्सा चालक गणपत महतो कोईरी स्थानीय निकायको निर्वाचनपछि चयन हुने प्रतिनिधिले स्थानीय विकासका काम गर्ने, समस्याको समाधान गर्ने बताउँछन् । “कर्मचारीको भरमा यत्रो वर्ष वित्यो केही भएन, यहाँको समस्या समाधानका लागि प्रतिनिधि चयन गर्न पाउनु हाम्रो अधिकार हो, काम नभए किन भएन भन्न पाइन्छ,” कोइरीले भने ।
जनप्रतिनिधिले भत्केको सडक मर्मत गरिदिने आशा व्यक्त गर्दै उनले राम्रो सडकमा रिक्सा चलाउन पाइने आशा व्यक्त गरे ।
वीरगञ्ज १४ श्रीपुर घर भई वीरगञ्जको नेशनल ट्रेडिङ अगाडी जुत्ता सिलाउने काम गर्दै आएका नथुनी राम पनि स्थानीय चुनाव हुुनुपर्ने बताउँछन् ।
“हाम्रो कुनै ठूलो चाहना छैन्, दुईचार पैसा कमाउन सकियोस, छोरा छोरीलाई राम्रोसँग पढाउन सकियोस भन्ने चाहाना नै हो,” उनले भने ।
चुनाव भयो भने देश पद्दतिमा चल्छ र कमाउने वातावरण बन्छ भन्ने विश्वास उनको छ ।
वीरगञ्ज– १८ का जितेन्द्रसिंह क्षेत्री गाउँठाउँको विकासका लागि स्थानीय चुनाव अपरीहार्य भएको बताउँछन् । “जनप्रतिनिधि नहुँदा एउटा सचिवले दुईवटा गाविस र नगरका वडा हेर्नुपर्ने बाध्यता छ । विकासका काम सबै अलपत्र छन” क्षेत्रीले भने, “विकासका लागि चुनाव हुनुपर्छ, नाला सडक बनाउन स्थानीय चुनाव हुनैपर्छ ।”
स्थानीय निकाय हुँदाको अनुवभ सुनाउँदै क्षेत्रीले भने वडा अध्यक्षले वडाको सरसफाईदेखि लिएर सबै विकासका कामहरुको रेखदेख गर्दै आएका थिए । जबदेखि स्थानीय निकाय छैन्, रोडमा धुलो उडेको छ कसैलाई मतलब नै छैन् । बाहिरबाट जागिर खान आएको एउटा सचिवले कतातिर मात्रै हेरोस ।”
स्थानीय स्तरमा आईपरेका समस्या समाधानका लागि स्थानीय निकायको निर्वाचन जरुरी रहेको उनको भनाई छ ।