पोखरामा वर्डफ्लु भेटियो
पोखरा– १७ खाल्टे मसिनाकी मीना परियारले पालेको एउटा हाँस ६ फागुनमा मर्यो ।
उक्त हाँसको क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला पोखरामा परीक्षण गर्दा बर्डफ्लु भएको पुष्टी भयो ।
थप परीक्षण गरेको केन्द्रीय परीक्षण प्रयोगशाला काठमाडौंले पनि वर्डफ्लुको पुष्टी गर्योे । परीक्षण चलिरहँदा परियारले पालेका २० मध्ये १७ वटा हाँस र ८ वटा कुखुरा मरिसकेका छन् ।
खाल्टेमसिना क्षेत्रमा वर्डफ्लुका कारण झण्डै ३०० मानिस, १०० कुखुरा, २०० हाँस प्रभावित हुन सक्ने क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सक डा. केदारराज पाण्डेले जानकारी दिए ।
मीनाका श्रीमानले पोखराका विभिन्न क्षेत्रबाट कुखुराको भुत्ला संकलन गर्नेक्रममा वर्डफ्लु सरेको हुन सक्ने प्राविधिक टोलीको आशंका छ ।
वर्डफ्लु भएको पुष्टी भएसँगै कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको अध्यक्षतामा बसेको बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति कास्कीको आकस्मिक बैठकले वर्डफ्लु नियन्त्रण गर्न विभिन्न निर्णय गरेको छ ।
बैठकले मीना परियारकोमा रहेको हाँस खोरदेखि २०० मिटर वरीपरी पक्षी आयात– निर्यातमा कम्तीमा ४२ दिन रोक लगाउने निर्णय गरेको छ ।
यस्तै त्यस क्षेत्रमा रहेका सबै पक्षी मार्ने र सुरक्षित रुपमा विसर्जन गर्ने, स्थानीयबासीको स्वास्थ्य परीक्षण र निगरानी जारी राख्ने निर्णय गरेको प्रजिअ मैनालीले बताए ।
जिल्ला पशुसेवा कार्यालयका कास्कीका प्रमुख पुरुषोत्तम त्रिपाठीका अनुसार वर्डफ्लुको भाइरस २३ डिग्री सेल्सियस तापक्रममै मर्छ ।
कुखुराको खोरमा काम गर्ने र मासु काट्ने व्यक्तिलाई मास्क लगाउन, पञ्जा लगाएर काम गर्न आग्रह गर्दै उनले कुखुरा लगायत पक्षीको मासु राम्रोसँग पकाएर खाँदा कुनै असर नपर्ने बताए ।
तर पोखरामा भने वर्डफ्लुको त्रास देखिएको छ । कुखुराको मासुको मूल्य प्रति केजी ४०० रुपैयाँ रहेकोमा आज शनिबार एकैचोटी ४० रुपैयाँ घटेको छ ।
माटेपानी वर्डफ्लु संक्रमित क्षेत्रमा पालिएका कुखुरा रातारात बिक्री भइसकेकाले पनि त्रास बढेको हुन सक्ने उपभोक्ता मञ्च पोखराका अध्यक्ष कपिल कोइरालाले बताए ।
युवराज श्रेष्ठ, पोखरा