सुरक्षा व्यवस्था कडा बनाउन निर्वाचन आयोगको निर्देशन
देशभरको सुरक्षा व्यवस्था कडा बनाउन निर्वाचन आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
निर्वाचन आयोगले आगमी ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सफलतापूर्वक सञ्चालन गर्न सुरक्षा व्यवस्था कडा बनाउन आग्रह गरेको हो ।
चार वटै सुरक्षा निकायका प्रमुखसहित गृह तथा रक्षा सचिवसँग स्थानीय तहको निर्वाचन सुरक्षा व्यवस्थाबारे भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयुक्त सुधिरकुमार शाहले जिम्मेवारीपूर्वक कार्य गर्न सम्बन्धित निकायलाई आग्रह गरेका हुन् ।
छलफलमा गृहसचिव लोकदर्शन रेग्मीले जति सक्यो छिटो विशेष सुरक्षा खाका तयार गरिने जानकारी गराए । रक्षासचिव श्रीधर सापकोटाले नेपाली सेनालाई प्राप्त हुने जिम्मेवारी सेनाले जिम्मेवारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आयोगले कानुनबमोजिम हातहतियार लिन पाउनेबाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको विस्फोटक वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला खुकुरी बन्दुक, पिस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँडन, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन नपाउने गरी नियन्त्रणको व्यवस्था मिलाउन सुरक्षा निकाय समक्ष आग्रह गरेको छ ।