टिप्पणीशुक्रवार, फाल्गुण १३, २०७३

लुम्बिनीबारे गलत बुझाइ

वसन्त महर्जन

'लुम्बिनी बुझाइ' नै गलत हुँदा सरकारले लुम्बिनीमा गरेको लगानी 'बालुवामा पानी' भइरहेको छ।

नेपालका पर्यटन व्यवसायी, पर्यटनविद्, सम्बद्ध निकायका पदाधिकारी र सर्वसाधारण भगवान गौतम बुद्ध (इ.पू ५६३–४८३) को जन्मस्थल लुम्बिनीबाट ठूलो अपेक्षा राख्छन्।

स्वयं गौतम बुद्धबाट भ्रमण गर्न आज्ञा भएका गन्तव्यमध्येको एक स्थल रहेको र अन्य धर्मावलम्बीहरू समेत बुद्ध र बौद्ध विषयवस्तुमा आकर्षित भएको वर्तमान समयमा लुम्बिनीबाट यस्तो अपेक्षा राख्नु स्वाभाविक मात्र नभएर आवश्यक पनि छ। तर, आशातीत फल नपाउँदा 'चिन्तित' बनेकाहरू 'चिन्तनशील' भएर व्यवस्थापकीय कुशलता देखाउनतिर नलागेको अवस्था छ।

पर्यटन उद्योगसँग सरोकार राख्नेहरूका लुम्बिनीसम्बन्धी लेख, समाचार वा अन्तर्वार्ता संचारमाध्यममा बरोबर पढ्न, सुन्न र हेर्न पाइन्छन्।

गोष्ठी–सेमिनारमा पनि त्यस्तै धारणा प्रवाह भइरहेका हुन्छन्, जसको सार हुन्छ– 'लुम्बिनी भनेको सुनको अण्डा पार्ने कुखुरी हो!' लुम्बिनीलाई यसरी नै बुझने/बुझाउने र यसबाट फाइदा लिन नसकेकोमा दुःखेसो पोख्ने गरेको पाइन्छ। 

लुम्बिनीबाट फाइदा लिन सरकारले पनि धेरै लगानी गरेको छ, जुन 'बालुवामा पानी' सावित हुँदै आएको छ। सरकार र पर्यटन क्षेत्रको 'लुम्बिनी बुझाइ' नै गलत भएकोले यस्तो गोलमाल भएकोमा भने कसैको ध्यान गएको देखिन्न।

लुम्बिनी एउटा जीवन्त सांस्कृतिक निधि हो। एउटा विशिष्ट जीवनदर्शन र संस्कृतिसँग सम्बन्धित लुम्बिनीलाई सोहीअनुसार बुझनुपर्छ। भन्नुको तात्पर्य, लुम्बिनी नेपालको भूगोलमा मात्रै सीमित नभएर अन्तर्राष्ट्रिय भएको छ।

विश्वको नासोको रूपमा आफूसँग रहेको लुम्बिनीको हिफाजत गर्ने नेपालको नैतिक दायित्व हो। यो दायित्व निर्वाहसँगै आर्थिक लाभ लिनसक्नु नेपालको व्यवस्थापकीय कुशलतामा निर्भर हुने कुरा हो।

विश्वमा बौद्ध जनसंख्या यति छ, त्यसमध्ये यति प्रतिशतलाई मात्र लुम्बिनी ल्याउँदा पनि नेपाललाई पुग्छ भनेर जोड, घटाउ, गुणन, भाग गर्नेहरूको कमी छैन। लुम्बिनी आएका बौद्ध पर्यटकहरू कस्तो प्रभाव लिएर फर्किए भन्ने हिसाब चाहिं कसैले गरेको पाइँदैन।

काठमाडौंमा बसेर 'टूर अपरेटिङ' गरिरहेका एक जना चिनियाँ मित्रले हालसालै यो पंक्तिकारसँग भनेका थिए, “अपार श्रद्धा लिएर बुद्धको जन्मस्थल आउनेहरू लुम्बिनीको वातावरण देखेर खिन्न हुँदै फर्किन्छन्, त्यो देख्दा मलाई पनि दिक्क लाग्छ।”

लुम्बिनीको विकासहेतु स्थापित सरकारी निकायहरू कसैका लागि जागीर पकाउने भाँडो त कसैका लागि त्यो भन्दा पनि अगाडि बढेर जायज/नाजायज हर्कतबाट अर्थ–लाभ गर्ने थलो बनेको कुरा अब विदेशीहरूले पनि भेउ पाइसके।

राजनीतिक दलहरूका लागि लुम्बिनी आफ्ना कार्यकर्तालाई जागीर खुवाउने थलोभन्दा बढी महत्वको स्थान हुनसकेको छैन। सम्बन्धित सरकारी निकायमा कोही असल परेछन् भने पनि लुम्बिनीलाई बुझ्दा नबुझ्दै सरुवा भइसक्छन्। यता लुम्बिनीमा पर्यटक आउलान् र कमाउँला भनेर बस्ने व्यवसायीहरू निराश हुन पुग्छन्।

पर्यटन व्यवसायीले पनि लुम्बिनीलाई पर्यटनस्थलको रूपमा मात्र बुझेका छन्। बौद्ध समाजमा वर्जित मदिरा र अन्य खानपिन लुम्बिनीमा यत्रतत्र पाइन्छ। यसरी बौद्ध सदाचारको धज्जी उडाइएको छ।

तीर्थस्थल नभई पर्यटनस्थलका रूपमा मात्र लिइँदा लुम्बिनीमा बौद्ध वातावरणसँग सम्बन्धित पक्षहरू गौण हुन पुगेका छन्। पर्यटनमा जो–कोही पनि आउन सक्छन् र पैसा तिरेर सेवा माग्छन्। पेशा–व्यवसाय गर्न बसेकाहरू तिनलाई सेवा दिन तत्पर हुन्छन्। उनीहरू धर्मको मर्यादा पालना गर्ने दायित्व पूरा गर्दैनन्।

हिन्दू, इसाई, इस्लाम, शिख आदि धर्मावलम्बीहरूको पनि बाक्लो आगमनले लुम्बिनी विश्व सद्भावको केन्द्र बनेको देखाउँछ। बुद्ध र बौद्ध धर्मप्रति असिम श्रद्धा भएरै गैर–बौद्धहरू लुम्बिनी आइरहेका हुन्छन्। उनीहरूको पनि अपेक्षा हुन्छ– यहाँ सौम्य बौद्ध वातावरण होस्। तर, उनीहरूले लुम्बिनी मनोरञ्जनस्थल भएको देख्छन्।

लुम्बिनीमा जताततै बौद्ध वातावरण प्रतिकूलका गतिविधि भइरहेको देखिन्छ। अरू त अरू, स्वयम् लुम्बिनी विकास कोषको गतिविधि बौद्ध भावना अनुकूल देखिन्न। बुद्धजयन्तीलगायतका विशेष अवसरहरूमा लुम्बिनीमा गरिने नौटंकी टाइपको सिंगारपटारले देखाउँछ– लुम्बिनी विकास कोषले नै लुम्बिनी के हो भनेर बुझ्न सकेको छैन।

प्रतिकृया दिनुहोस