संविधान संशोधन हुन दिइँदैनः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन हुन नदिने दोहोर्याएका छन् ।
नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाडीमा आज आयोजना गरेको ३६ औं ऋषिराज देवकोटा स्मृति दिवस एवम् जिल्ला प्रतिनिधि परिषदको उद्घाटन गर्दै अध्यक्ष ओलीले अरुको इसारामा दलहरुले संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाए ।
संसदमा संविधान संशोधनको प्रस्तावलाई ल्याईएला तर कुनै पनि हालतमा एमालेले संविधान संशोधन प्रस्ताव पास गर्नै नदिने उनले बताए ।
स्थानीय निकायको चुनाव हुन नदिनका लागि संविधान संशोधन अनावश्यकको विषय बनाइएको उनको भनाइ छ ।
उक्त अवसरमा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने दुईसयभन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।
यसैबीच ओलीलाई हेटौडा चतार राजमार्ग पीडित सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझदै ओलीले भने, “हेटौडा चतार राजमार्गको शुरुवात आफैले गरेको हुँ, यसले सिन्धुलीलाई सम्बृद्ध बनाउने छ तर पनि धेरै वस्ती तथा सम्पत्तिको क्षति नगरी राजमार्ग विस्तार गरिनुपर्छ ।”
रासस