नेमकिपाको विरोधका बीच संशोधन विधेयकमाथि छलफल, एमाले मौन
नेमकिपाको विरोध र एमालेको मौनताकाबीच व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल शुरु भएको छ ।
यसअघि विधेयकको विरोध गर्दै आएको एमालेले ‘एक दिनका लागि’ संशोधनमाथि छलफल गर्न दिएको छ । तर, आफूहरु संशोधनमाथिको छलफलमा भाग नलिने र मौन बस्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
संसदमा कानूनमन्त्री अजयशंकर नायकले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे लगत्तै नेमकिपाका सांसदहरुले ‘राष्ट्रघाती संशोधन फिर्ता गर’ भन्दै नाराबाजी गरिरहेका छन् ।
अहिले होहल्लाका बीच विधेयकमाथि छलफल जारी छ । मधेशी मोर्चाका सांसदहरु पनि संशोधनमाथिको छलफलमा सहभागी भएका छन् ।
यसअघि एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले विशेष समय लिएर बोल्दै संशोधन प्रस्ताव अघि नबढाउन आग्रह गरेका थिए ।
उनले संशोधन प्रस्ताव पास हुन नदिने आफूहरुको अविचलित अडान रहेको भन्दै आजका लागि भने बैठक अवरोध नगरी मौन रहने बताएका थिए ।