ब्लगबुधवार, भाद्र १, २०७३

कांग्रेसका चे (सम्झना)

पुरञ्जन आचार्य

भूविक्रम नेम्वाङ नेपाली कांग्रेसका ती क्रान्तिवीर थिए, जो लोकतन्त्र र आत्मसम्मानको लागि गर्वसाथ लड्यो र जित्यो पनि।

सधैं शिरमा ढाका टोपी, काँधमा गम्छा, अनुहारमा झासझुस दाह्री, पसिनाले भिजेको शरीर, कुरा गर्दा हातका औंला चलाइरहने बानी, चार–बीस पुग्न लाग्दा पनि आँखामा विद्रोही स्वभाव― यस्तै थिए; भूविक्रम नेम्वाङ। 

परिवारका साइँला भएकाले कांग्रेसजनले 'साल्दाइ' भन्ने गरेका भूविक्रमलाई सन् ६० को दशकमा पार्टीभित्र 'चे ग्वेवारा' भनिन्थ्यो। त्यो सशस्त्र संघर्षको समय थियो। कांग्रेसका ती क्रान्तिकारी चेले ८० वर्षको उमेरमा यसै हप्ता नश्वर शरीर छाडेर गए, आफ्नो कर्मभूमि झ्ाापामा। उनको अन्त्यसँगै नेपाली कांग्रेसभित्रका सान्दाजु, ठुल्दाइ, माल्दाइ, साल्दाइ जस्ता भावनाका सम्बोधनहरू पनि समाप्तप्रायः भएको छ।

लिम्बूवान क्षेत्र भनी चिनिने पाँचथर जिल्लाको सम्पन्न परिवारमा भूविक्रमको जन्म भएको थियो। उनका बुवा पाँचथरका डबल सुब्बा थिए। सिंगल सुब्बा नै राजासरह हुने जमानामा डबल सुब्बाको हैकम र रवाफ कस्तो थियो होला, पाँचथरमा! पूर्वी नेपालमा नेम्वाङ परिवारको जग्गाजमीन यति धेरै थियो कि यिनलाई झापा–पाँचथर आउजाउ गर्दा कसैको जमीन टेक्नु पर्दैन भनिन्थ्यो।

२०३६ सालको जनमत संग्रहपछि भूविक्रम केही साथीहरूसँग इलामबाट पाँचथरको गाउँ जाँदैथिए। बाटोमा जयप्रकाश गुप्ताले भनेछन्, “साल्दाइ, हामी हिंडिरहेको जग्गा पनि तपाईंकै परिवारको त होला नि!”

“यही सामन्ती ढाँचा बदल्न त म कांग्रेसमा लागेको नि भाइ” भूविक्रमले भनेछन्। उनी क्रान्तिकारी थिए भन्नेमा कुनै शंका छैन। उनी पक्का समाजवादी अनि बीपी कोइरालाको सच्चा अनुयायी र भरोसायुक्त योद्धा थिए।

राजा महेन्द्रले बीपी कोइरालाले नेतृत्व गरेको जननिर्वाचित सरकार विरुद्ध 'कु' गरेर सबैलाई जेल हालेपछि भूविक्रम त्यसको प्रतिकारमा लागे, २०१८ सालमा पूर्वी पहाडमा ठूलै 'रिभोल्ट' भयो। दार्जीलिङमा आधुनिक शिक्षा लिएका २५ वर्षका युवक भूविक्रम कोशी–मेची पहाडका प्रहरी थाना कब्जा गर्न, उडाउन सक्रिय भए। त्यो बेला महेन्द्रको निरंकुशता विरुद्धको प्रतिरोध आन्दोलन पूर्वी पहाडमा जस्तो प्रभावकारी अन्यत्र भएन।

कांग्रेसका तत्कालीन सभापति सुवर्णशमशेरको नेतृत्वमा भएको प्रतिरोध आन्दोलन तत्कालीन भूराजनीतिको शिकार भएपछि पूर्वी नेपालका योद्धाहरू मेचीपारि गए। त्यसबेला पश्चिम बंगालको नक्सलवाडीमा जम्मा हुनेमा भूविक्रम नेम्वाङ, सीके प्रसाई, रामबाबु प्रसाई, देवान दोर्जे, महेन्द्र केरुङलगायत क्रान्तिकारीहरू थिए।

नक्सलवाडीको चियाबगानमा चारु मजुमदार र कानु सन्यालले नक्सलाइट आन्दोलन चलाउनुअघि नेपालबाट गएका तिनै क्रान्तिकारीहरूले राजनीतिक जागरण शुरु गरेका थिए। भूविक्रमहरूले त्यहींबाट नेपालको लोकतान्त्रिक आन्दोलनको दियोलाई निभ्न दिएनन्।

वास्तवमा कांग्रेसको प्रवासकालीन कालखण्डमा भारतको बनारस, पटना, कलकत्ता, पूर्णिया, फारविसगञ्ज, गोरखपुर, रक्सौल आदि ठाउँमा बसेका कांग्रेसी समूहमध्ये बंगालमा बसेकाहरू स्वाभिमानी थिए। स्वाभिमानी यसकारण कि, नक्सलवाडीमा कांग्रेस कार्यालय खोलेकाहरू कलकत्ता, पूर्णिया वा पटना गएर पैसा माग्दैनथे। धेरैपछि जब लोकतन्त्रको पुनर्स्थापना भयो, नेपालमा ती योद्धाहरूले त्यसको मूल्य चुकाउनुपर्‍यो।

प्रारम्भिक प्रवास राजनीतिमा भूविक्रमले सुवर्णशमशेरसँग नजिक रहेर काम गरे। बीपी छुटेर बनारसको सारनाथ गएपछि भने उनी बीपी निकट भए। कांग्रेसका बौद्धिक व्यक्तित्व चक्र बाँस्तोला र भूविक्रमलाई सोचविचारको सामीप्यता र नेपालको राजनीति बुझ्ने तौरतरीकाले अन्तरंग मित्र बनाएको थियो।

पछि लोकतन्त्रको पुनःस्थापना भने भूविक्रमलाई खासै फापेन। उनी कांग्रेसबाट 'डाउन एण्ड आउट' जस्तै भए।

“साल्दाइ, किन तपाईं कांग्रेसबाट विरक्तिएको?”

केही वर्ष अगाडि विराटनगरमा यो पंक्तिकारले सोध्दा उनी त्यो विषयमा खुल्न रुचाएनन्। लामो कुराकानीको क्रममा भने उनले कांग्रेसमा कांग्रेसीहरू नै अल्पमतमा परेको विश्लेषण गरे। कांग्रेसको क्रान्तिकारी धार भुत्ते भएको पीर उनमा थियो।

क्रान्तिकालमा बीपी र सुवर्णशमशेरसँग भूविक्रम अत्यन्त निकट रहेको देखिन्छ। पछिल्ला दिनमा भने उनले गिरिजाप्रसाद र सुशील कोइरालासँग 'ट्यूनिङ' मिलाउन जानेनन् वा चाहेनन्। मानसम्मानको खोजी गर्दा किसान बनेको उनी बताउँथे।

यस्तै त भएको थियो– फ्रेञ्च क्रान्तिका नायक जर्ज दाँतोलाई। केही समय गाउँमा खेतीपाती गरेर बसेका दाँतोलाई क्रान्तिमा फर्केर आएपछि आफ्नै साथीहरूले झुण्ड्याएर मारेका थिए। भूविक्रम भने किसान भएपछि सक्रिय राजनीतिमा फर्केर आएनन्। क्रान्ति, लोकतन्त्र र आत्मसम्मानका ती योद्धालाई श्रद्धासुमन!

प्रतिकृया दिनुहोस