बन्दका क्रममा जनकपुरमा झडप, शीतल साह कुटिए
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको एक दिने मधेश बन्दको क्रममा जनकपुरका दुई स्थानमा झड्प भएको छ ।
मध्य तथा पूर्वी तराईका अन्य जिल्लाहरुमा बन्दको प्रभाव देखिए पनि झड्प तथा हिंसात्मक गतिविधि देखिएन ।
मोर्चाले आह्वान गरेकोे बन्दको क्रममा नेकपा एमालेका नेता रघुबीर महासेठको जनकपुरस्थित आवासबाट भेटघाट गरी फर्किने क्रममा नेपाल पत्रकार महासंघका निवर्तमान कोषाध्यक्ष मोर्चाका कार्यकर्ताहरु बाट शितल साह कुटिए ।
आज अपरान्ह झण्डै दुई दर्जनको समूहमा रहेको मोर्चाका नेता कार्यकर्ताले ‘पत्रकारको आवरणमा मधेश विरोधी गतिविधिमा संलग्न रहेको’ भन्दै साहलाई नियन्त्रणमा लिएर कुटपीट गरेका हुन् ।
टाउकोमा चोट लागेका साहलाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।
त्यसअघि मोर्चाले निकालेको जुलुस एमाले नेता रघुबीर महासेठको घर अगाडिबाट जाने क्रममा महासेठको घर अगाडि केही बेर रुकेको थियो भने उनको घरमा सामान्य ढुंगामुढा समेत भएको थियो । त्यसबेला एमाले उपाध्यक्ष बामदेव गौतम पनि महासेठकै घरमा थिए ।
जुलुश अगाडि बढेपछि जुलुशभन्दा पछि रहेका दुईजना मोर्चाका कार्यकर्तालाई एमालेका कार्यकर्ताले एमाले नेता रघुबीर महासेठको घर अगाडी घेरा हालेर कुटपीट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आवास अगाडि सुरक्षार्थ खटिएको प्रहरीको टोलीले दुबैजना मोर्चाका कार्यकर्तालाई उद्धार गरी अस्पताल भर्ना गराएको थियो ।
घाइते कुलदीप सिंह र सन्तोष साहको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सिंहको टाउकोमा चोट लागेको र साहको खुट्टा भाँचिएको छ ।
मध्य तथा पूर्वी तराईका महोत्तरीको जलेश्वर, सिरहाको लहान, गोलबजार, सप्तरीको राजबिराज, भारदह लगायतमा मोर्चाका नेता कार्यकर्ताले बिहानैबाट प्रदर्शन गरे पनि हिंसात्मक घटनाहरु नभएको प्रहरीले जनाएको छ ।
ईश्वरचन्द्र झा, जनकपुर