ग्रामीण क्षेत्रमा मोबाइल ब्याङकिङ पुर्याउन गर्भनरको आग्रह
नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले ग्रामीण भेगमा समेत मोबाइल ब्याङकिङ सेवा पुर्याउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् ।
पुँजीमा पहुँच बढाउँदै नेपालको गरिबी घटाउन क्रियाशील बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभागअन्तर्गतको परियोजना ‘सक्षम’ र व्यापारीक प्रतिष्ठान आइएमई समूहको ‘आइएमई डिजिटल’ बीच बुधबार आयोजित मोबाइल ब्याङकिङ सेवासम्बन्धी सम्झौता समारोहमा नेपालले यस्तो धारणा राखेका हुन् ।
नगदरहित कारोबारले पारदर्शिता सुनिश्चित गर्ने बताउँदै गभर्नरले अनौपचारिक माध्यमबाट हुने कारोबार नियन्त्रणमा समेत मोबाइल ब्याङकिङ प्रणालीले सघाउने बताए ।
देशका सम्पूर्ण जिल्लामा पाँच हजार पाँचसय ‘एजेन्ट’ बाट वित्तीय सेवा प्रवाह गर्दै आएको आइएमईका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र मध्य तथा सुदूरपश्चिमका सबै जिल्लामा सेवारत 'सक्षम' परियोजनाका टोली नेता बलजित बोहोराले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा आइएमई समुहका अध्यक्ष ढकालले मुलुकको वित्तीय सेवालाई सबल र सुदृढ तुल्याउन निजी क्षेत्रको प्रतिबद्धता दोहोर्याउँदै त्यसका निम्ति सरकारसँग हातेमालो गरेर अनौपचारिक कारोबार र वित्त प्रवाहलाई निरुत्साहित गर्न आफू दृढ रहेको बताए ।
रासस