एमालेको प्रश्न: संसोधन प्रस्ताव मतदानमा गएपछि आउने परिणाम मोर्चालाई स्वीकार छ ?
प्रमुख प्रतिपक्ष एमाले सहितका नौ दलले सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान सशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेस भएपछि आउने परिणाम स्वीकार गर्ने निश्चित भएमात्रै प्रस्ताव अघि बढाउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज, ११ फागुनमा बसेको विपक्षी नौ दलको बैठकले संशोधन प्रस्तावको सम्बन्धमा मोर्चाका नेताहरुको धारणा माग गर्दै उनीहरुले प्रस्ताव पारित भए पनि/ नभए पनि संसदबाट आउने परिणाम स्वीकार गर्छन वा गर्दैनन् भन्नेबारे स्पष्ट धारणा सरकारबाट माग गर्ने निर्णय गरेको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिए ।
उनले भने, “सरकारमा रहेका दुई ठूला दलको यस सम्बन्धी धारणा के छ स्पष्ट उत्तर हामीले पाउन सकेका छैनौँ ।”
सरकारले निर्वाचन मिति घोषणा गरेको सम्बन्धमा आफूहरुले स्वागत गरिसकेको भन्दै उपाध्यक्ष रावलले प्रदेशको सीमाङ्कन हेरफेर गर्ने विषय सभामुखले प्रदेशसभामा पठाउनुपर्ने संवैधानिक व्यवस्था रहेको बताए ।
संशोधन प्रस्ताव आज अघि नबढाउन नौ दलले निर्णय गरेको जानकारी गराउँदै उनले भने, “विपक्षी दलहरुको भनाईप्रति सरकारको के जवाफ आउँछ सोही अनुसार हामी अघि बढ्छौ ।”
उपाध्यक्ष रावलले संशोधन प्रस्ताव निर्णयार्थ पेस भएपछि आउने परिणामका बारेमा सरकार र मोर्चाको स्पष्ट धारणाको माग गरे ।