बन्दले २ नम्बर प्रदेश ठप्प, अन्य ठाउँमा प्रभाव परेन
मधेशी मोर्चाले आह्वान गरेको ‘मधेश बन्द’ को प्रभाव दुई नम्बर प्रदेशका जिल्लाहरु बाहेक अन्यत्र परेको छैन ।
बन्दका कारण बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीका बजारहरु ठप्प भएका छन् भने यातायात, कलकारखाना, शैक्षिक संस्थाहरु पनि बन्द छन् ।
बारा, पर्साका राजमार्ग क्षेत्रमा मधेशी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । सर्लाहीमा भने राजमार्ग पुरै खुला छ । नवलपुर, लालबन्दी लगायतका बजारहरु खुला छन् भने सवारी साधन पनि चलिरहेका छन् ।
बन्दको प्रभाव मोरङ् र सुनसरी क्षेत्रमा पनि परेको छ । विराटनगरमा केही मोटरसाइकल बाहेक अन्य सवारी साधन चलेका छैनन् ।
यता रुपन्देहीको बुटवलमा बन्दको प्रभाव परेको छैन भने भैरहवामा आंशिक प्रभाव परेको छ । भैरहवामा सार्वजनिक सवारी साधन चलेका छैनन् भने निजी सवारी साधन चलिरहेका छन् । बजार आंशिक खुला छ ।
नवलपरासीको परासी बजार बन्द भए पनि अन्य क्षेत्रमा बन्दको प्रभाव परेको छैन । राजमार्ग क्षेत्रका सबै बजार खुला छन् भने गाडिहरु सुचारु छन् ।
कपिलवस्तुको परासी लगायतका दक्षिणी बजारहरु बन्द भए पनि राजमार्ग क्षेत्र खुला छ । कृष्णनगर बन्द छ भने गोरसिंगे, चन्द्रौटा लगायतका बजारहरु खुलै छन् ।
दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरमा बन्दको प्रभाव परेको छैन ।
सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसको विरोधमा मोर्चाले आज मधेश बन्दको आह्वान गरेको हो ।