बालकदेखि वृद्धसम्म परम्परा जोगाउन आगोमा होमिए
आठवर्षका बालकदेखि ८५ वर्षका वृद्धसम्म सयौँ भारी दाउराको आगोमा नाचेर तान्त्रिक बिद्याको शक्तिलाई भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–६ सिरुटारका ६५ घर राउत परिवारले सावित गरेका छन् ।
कुल देवताका रुपमा वशिष्ठ गोत्रका राउत परिवारले मान्दै आएका विन्ध्यवासिनी, बाह्रभान्जा र सहिक्षेत्रपालका नयाँ डाङ्ग्रे तयार गर्न दुई महिनादेखि गुरुको तान्त्रिक विद्यामार्फत गरिएको प्रयास सफल भएपछि विधिअनुसार मंगलबार आगोमा नचाएर खलि खुवाउने कार्य सम्पन्न गरिएको हो ।
धामी गुरुले तान्त्रिक विधिद्वारा कुलदेवताको आह्वान गरी यहाँका राउत परिवारको पुरुषको शरीरमा कुलदेवता चढाउने कार्य सफल भएपछि आगोमा नचाएर खली खुवाउने कार्य सम्पन्न गरिएको डाङ्ग्रे हरिशरण राउतले बताए ।
विसं २०१३ मा यसैगरी आगोमा नाचेर खली खुवाए पछि निरन्तर रुपमा कुलपूजा (दिवाली) का दिनमा शरीरमा कम्पन गराई कुलदेवता मान्दै आएको परम्परालाई ६० वर्षपछि खली खुवाएर ८ जना नयाँ डाङ्ग्रे तयार पारिएको हो ।
कुलदेवता मानवको शरीरमा प्रवेश गरेपछि आगोमा नाच्दा पनि नपोल्ने विश्वास अनुसार बालकदेखि बृद्धसम्मले आगोमा नाचेर खलि खुवाउने परम्परालाई धानेका हुन् ।
कुलपूजामा कुलको जिम्मा लिन तयार हुने व्यक्तिलाई डाङ्ग्रे भन्ने गरिन्छ । यसो गरेमा कुलभित्र शान्ति हुने, अनिष्ट नहुने, नराम्रो हुनेलाई कुलपूजामा डाङ्ग्रेले सचेत गराउने र कुलदेवतालाई मान्दा प्रगति हुने विश्वास रहेको डाङ्ग्रे कुमार राउतले बताए ।
काठमाडौँ सितापाइलाका गुरु दुर्गाप्रसाद सुवेदीले दुई महिना लगाएर यहाँका हरिशरण, निर्मल, दिपेश, सुकदेव, दिपेन्द्र, उत्तम, निरन्जन र निरज राउतको शरीरमा कुलदेवता प्रवेश गराएपछि नयाँ डाङ्ग्रे तयार भएको राउतले बताए ।
रमेश गिरी, रासस