एक साताभित्र निर्वाचन आचारसंहिता लागू हुने
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले छिट्टै छलफल गरी निर्वाचनसम्बन्धी आचारसंहिता ल्याइने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा यादवले एक साताभित्र निर्वाचनसम्बन्धी आचारसंहिता लागू गरिने जानकारी दिए । उनले निर्वाचनलाई कसैले कुनै बहानामा रोक्न नहुने बताउँदै अब कुनै हालतमा पनि निर्वाचन हुने स्पष्ट पारे ।
यादवका अनुसार निर्वाचनका लागि २१ हजारभन्दा बढी मतदान केन्द्र र २५ हजारभन्दा बढी मतपत्र बाकस चाहिन्छ । स्थानीय तहमा कर्मचारीको आवश्यकता रहने हुँदा नयाँ संरचनानुसार चाँडो कर्मचारी राखिएमा निर्वाचन गर्न सहज हुने उनको भनाइ थियो ।
उनले निर्वाचनका लागि जम्मा ८२ दिन बाँकी रहेकाले विद्युतीय यन्त्रबाट मत हाल्न सम्भव नभएको स्पष्ट पारे ।
रासस