त्रिशूलीमा जिप खस्दा दुई जना बेपत्ता
चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप ९ फागुन बिहान त्रिशूली नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् भने चारजना घाइते भएका छन् ।
दुर्घटनामा परी गोर्खा ताकु–६ बस्ने ६५ वर्षीया विष्णुमायाँ गुरुङ र उनका नाति १३ वर्षीय कविन गुरुङ बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।
बिहान करिब ३ बजे चितवनको खैरहनीबाट गोरखा जाँदै गरेको ना. ३ ख. ७५४३ नं.को बोलेरो कविलास–४ स्थित सत्र किलो भन्ने स्थानबाट त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते हुनेहरुमा चितवन कालिका नगरपालिका–५ का ३३ वर्षीय शिव खड्का (चालक), गोर्खा ताकुकै ४० वर्षीय भीमबहादुर गुरुङ, सोही ठाउँका २८ वर्षीय टीका गुरुङ र अर्का ५ वर्षीय न्युटल गुरुङ रहेका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ ।
कोठाको सामान लिएर जाँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् । बोलेरो पानी भित्रै रहेकाले निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । रासस