राजनीतिकर्मीको प्राथमिकता जनहित नभई सत्तामात्रः अनुपराज शर्मा
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले राजनीतिकर्मीको प्राथमिकता जनहित र मानवअधिकार नभई सत्तामा केन्द्रित रहेको आरोप लगाएका छन् ।
पोखरामा दुई दिनसम्म चलेको व्यवसाय र मानव अधिकार विषयक क्षेत्रीय सम्मेलन कार्यक्रमलाई समापन गर्दै अध्यक्ष शर्माले देशको राजनीतिक नेतृत्व नसुध्रिएसम्म मुलुक नबन्ने बताए ।
राजनीतिक नेतृत्व परिवर्तनका लागि युवा जाग्नु जरुरी भइसकेको प्रमुख शर्माको भनाई थियो ।
कार्यक्रममा बोल्दै आयोगका सदस्य गोविन्द शर्मा पौडेलले आयोगले बेपत्ता छानविन र सत्य निरुपण आयोगका काम समेत हेरिरहेको बताए । अहिले आयोगले “सबै क्षेत्रमा हस्तक्षेप गर्नुपर्ने अवस्था छ, सम्बन्धित संस्थाहरुले प्रभावकारी भूमिका निर्वाह गर्न सकेनन्,” उनले भने ।
कार्यक्रममा आयोगका पोखरा निमित्त क्षेत्रीय निर्देशक सूर्यबहादुर देउजाले व्यवसाय र मानवअधिकार विषयक कार्यपत्र पेश गरेका थिए । सो अवसरमा पश्चिमाञ्चल क्षेत्रका उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिहरुले आ– आफ्नो जिल्लाका संभावना र चुनौतीका बारेमा जानकारी गराएका थिए ।
व्यवसायमा मानवअधिकार प्रवद्र्धनका लागि सरकार, व्यवसायी, मानवअधिकारवादी संघ संस्था र उपभोक्ता मञ्च तथा नागरिक समाजको भुमिकाका विषयमा समूहमा छलफल गरिएको थियो ।
शनिबार र आईतबार गरी दुई दिन चलेको सम्मेलनबाट ५ बुँदे पोखरा घोषणा पत्र जारी गरेको छ ।
युवराज श्रेष्ठ, पोखरा