अर्बको योजना, लाखमा बजेट
कञ्चनपुरको दोदा नदी नियन्त्रण गर्ने साढे दुई अर्ब रुपैयाँको गुरुयोजना बजेट अभावको कारण प्रभावहीन बनेको छ।
आठ वर्षअघिको साउनमा एक बिघा जमीन दोदा नदीले बगाउँदा कञ्चनपुरको शंकरपुर–७ कुण्डाका लोकराज पन्तले भदौ–असोजतिर बाढी कम भएपछि हिउँदे खेती गर्न मिलिहाल्ला कि भन्ने सोचेका थिए। तर, त्यसयता वर्षेनि बढ्दै गएको कटानले उनको बाँकी जमीन पनि बगरमा परिणत भएको छ। पन्त भन्छन्, “तटबन्ध बनाएर हिउँदे बालीसम्म लगाउन मिल्ने बनाइदिनुस् भन्यौं, केही भएन”, पन्त भन्छन्।
पन्तका छिमेकी देवी दमाईको पनि तीन बिघा जमीन दोदाले बगाइसकेको छ। कुण्डा गाउँमा ८० परिवारले घरखेत गुमाएका छन्। २०६५ सालमा दोदा गाउँतिर पसेपछि शुरू भएको कटानले वडा नम्बर ८ लाई पनि प्रभावित पार्न थालेको छ। स्थानीयवासीहरू दोदालाई बौलाहा नदी भन्छन्।
उनीहरूका अनुसार, दोदा कहिले असारमै आएर घरखेत बगाउँछ भने कहिले असोज–कात्तिकमा पनि बहुलाएर आउँछ। २०६५ मा बर्खा सिद्धिसकेपछि असोजको अन्त्यमा पनि दोदाको बाढी गाउँ पसेको थियो।
कृष्णपुर नगरपालिकाको चुरे क्षेत्रदेखि शुरू हुने दोदाले भारतको दुधवा टाइगर रिजर्भसम्मको ४३ किलोमिटर यात्रामा कटान नगरेको कुनै ठाउँ छैन। महेन्द्रनगरस्थित जनताको तटबन्ध कार्यालयका अनुसार, दोदाले कृष्णपुरदेखि दुधवासम्म ४३ सय बिघा जमीन कटान गरेको छ। दोदाले नेपालतिर तीन नगरपालिका र तीन गाविसका २५ सय परिवारलाई पीडित बनाएको जनताको तटबन्ध कार्यालयका इन्जिनियर करवीर साउद बताउँछन्।
२०६५ बाट दोदाको दुवै किनारका उर्वर भूमि कटान तीव्र बनेपछि २०६६ सालमा यसलाई नियन्त्रण गर्ने गुरुयोजना बनाइएको थियो। दोदासहित यसमा मिसिने मछेली, स्याली, ओदाली गाड, कटुवा, निगाली, बनहरा, टोटी नला, चिउरी गाड, हारापानी गाड, खारलगायतका खोलाहरूको समेत कटान नियन्त्रण गर्ने गुरुयोजनाको लक्ष्य थियो। आर्थिक वर्ष २०६७/६८ बाट शुरू भएको १७ वर्षीय गुरुयोजना २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य छ।
तर, चुरेदेखि दक्षिणी सिमानासम्मको ४३ किलोमिटर नदीको दुवै किनारमा ७५ किलोमिटर तटबन्ध, ९४ वटा स्पर र १९ किलोमिटर रिभेटमेन्ट बनाउन रु.२ अर्ब ५८ करोड लाग्ने अनुमान गरिएको गुरुयोजनाका लागि सरकारले शुरूको वर्ष कुल रु.५ लाख बजेट छुट्याएको थियो। स्थानीय बासिन्दाको चर्को विरोधका कारण लाखको बजेटलाई करोडमा पुर्याइएको त छ, तर त्यो पनि हात्तीको मुखमा जिरा साबित हुँदै आएको छ।
गत आवमा रु.४ करोड २९ लाख खर्च गरेको दोदा नियन्त्रण गुरुयोजनाको लागि चालू आवमा ७ करोड रुपैयाँ विनियोजन भएको छ। सात वर्षमा योसहित गुरुयोजनाको लागि रु.२९ करोड ५५ लाख विनियोजन भएको छ। रु.३४/३५ करोड माग्दा आउने न्यून बजेटले के गर्ने, के नगर्ने हुने गरेको इन्जिनियर साउद बताउँछन्। उनका अनुसार, दोदा नियन्त्रणका लागि अहिलेसम्म ८ किलोमिटर ६३५ मिटर तटबन्ध, तीनसय मिटर रिभेटमेन्ट र ३४ वटा स्पर निर्माण भएको छ।
यही स्तरको बजेटले बाँकी ६६ किलोमिटर तटबन्ध बनाउन दशकौं लाग्ने कटान पीडितमध्येका एक गोपाल गुरुङ बताउँछन्। अहिलेसम्म तटबन्ध बनाएर जनताको जमीन जोगाउनेभन्दा पनि सरकारी बजेट दोदामा बगाउने काम मात्र भएको उनले बताए। कटानपीडित मात्र नभई गुरुयोजना कार्यान्वयन गरिरहेको तटबन्ध कार्यालय समेत बजेट र त्यसबाट भइरहेको कामबाट सन्तुष्ट छैन। “अहिलेको अवस्थाले २०८३/८४ मा गुरुयोजना पूरा हुन्छ भन्ने देखाउँदैन”, इन्जिनियर साउद भन्छन्।
बच्चु विक, कञ्चनपुर