दस्तावेजशनिवार, फाल्गुण ७, २०७३

पृथ्वीनारायणको नीति: जहाँको दुवाली, त्यहींको चपरी

ज्ञानमणि नेपाल

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले 'जहाँको दुवाली, त्यहींको चपरी' नीति अवलम्बन गरेका थिए।

अठारौं शताब्दीमा नेपाल, महाराष्ट्र, पञ्जाब आदि प्रदेशहरूमा नयाँ राजनीतिक सचेष्टा प्रकट भएर नयाँ जागृति आएको थियो। उर्वर भूमि जहाँ जहाँ हुन्छ, त्यहाँ त्यहाँका बासिन्दा परिश्रमशील, कर्मवीर र स्वभावैले उत्साही–साहसी हुने हुँदा गोरखाली, शिख, मराठीहरूले ख्याति कमाएका छन्।

सिन्ध, गंगा आदि प्रदेशका मलिला जमीनका बासिन्दा स्वभावतः सुखी, समृद्ध भएर भोगविलासतिर लहसिएकाले हिम्मतहारा भएर विदेशीका वंश बनेर चाँडै आफ्नो आत्मबल र स्वत्व गुमाएका देखिन्छन्। भारतको इतिहास हेर्दा यही दृष्टान्त गोचर हुन आउँछ।

यूरोपीय देशमा पुनर्जागरणको जुग जब शुरू भयो, त्यस बेलादेखि ती प्रत्येक देशका विशेष व्यापारिक नाविकहरूले बडेबडे व्यापारिक जालोले विश्वलाई नै बेर्न थाले। विशेषतः भारतलाई बेपारी कारोबार कोठीले ढाक्तै ल्याए भने पादरीहरूले पनि आफ्ना धर्मको तीव्र प्रचार गर्दै ल्याए।

वि.सं. १६५७–१७०० मा ब्रिटिशले भारतमा बेपार गर्न भनेर इष्ट इण्डिया कम्पनी स्थापना गरे। त्यसपछि ब्रिटिशको भारत बेपार दिन दुईगुना रात चौगुना भएर बढ्यो। चल्दै रहेका डच, पोर्तुगिज, स्पेनी, फ्रेन्च आदि यूरोपीय देशका बेपारी जहाज इष्ट इण्डिया कम्पनीका अगाडि किनारा लागे। सबैका कोठी प्रायः बन्द भए। ब्रिटिश कम्पनीको बेपार भारतवर्ष भर व्याप्त भयो।

ब्रिटिश कारोबार र ईसाइ धर्म (दुवै सम्प्रदाय) का पादरीहरूको प्रचार बढ्दै बढ्दै आउँदा वि.सं. १८१४ मा बंगाल–बिहारमा त ब्रिटिश कम्पनीको शासनै स्थापित भयो। त्यसको सात वर्षपछि त दिल्लीका वादशाह पनि अंगे्रजको अधीनमा आए।

विहार–बंगालमा ब्रिटिश कम्पनीको शासन स्थापना भएकै वर्ष यता कीर्तिपुरमा गोरखालीको ठूलो हार भयो। पृथ्वीनारायण शाहले गोरखाको राजा भएको अर्को वर्षदेखि नै नेपाल एकीकरण अभियान थालेका थिए। १८०१ सालमा उनले काठमाडौं राज्यको नुवाकोट किल्ला जितिसकेका थिए। र काठमाडौंको उत्तर छेउछेउ अघि बढ्दै थिए।

नुवाकोट किल्ला विजयपछि सयौं वर्षदेखिको गोरखाको एउटा ठूलो मनोवाञ्छा पूर्ण भएको थियो। गोरखाका पस्ने–निस्कने गौंडा नै थिएनन्। न भोट बेपार थियो, न त तराईको माल देश थियो। नुवाकोट जितेपछि गोरखाको उत्तरी नाका खुल्यो।

कुतीको बाटो नलिउन्जेल बेपार आदान–प्रदानका लागि सुविस्ता हुदैनथ्यो। बाहिरका बेपारी लुटिने डरले आउन असकत मानिरहन्थे। बेपार सुचारु चलाउन कुतीको बाटो हात नलाई हुँदैनथ्यो। त्यसका लागि ठूलो द्रव्य शक्ति, सैन्य शक्ति नभएकाले पृथ्वीनारायण विस्तार विस्तार अघि बढ्थे।

भक्तपुरका राजा रणजीत मल्ल उनका मीतबाबु थिए। उनैको सहयोगले दुई–तीन वर्षमा साँखु, चाँगु किल्ला गोरखाको अधीनमा गए तापनि बेपारी मार्ग सुचारु हुन सकेन। ठाउँ–ठाउँमा डाँका दललाई पालेर राखेका हुनाले बिगबिगी लागिरहन्थ्यो।

एक राज्यले अर्कोलाई लुट्ने प्रचलन जस्तै थियो। पाटनका कुशल नेवार बेपारीहरू पहिल्यै गोरखा गएर बसेका थिए। गोरखाले नुवाकोट जितेर राजधानी सारेपछि नेवारहरू पनि त्यतै लागे। पृथ्वीनारायणले उनीहरूलाई सुरक्षा दिने, भोटबाट सस्तो सुनचाँदी ल्याएर टक काट्ने, भारततर्फका बेपारीहरूलाई पनि ल्याएर कारोबार चलाउने काम लगाउन थाले।

राम्रो सुरक्षा दिन्छ भने पछि काठमाडौंका ठूला सेठ, महन्त, सन्यासीहरू पनि नुवाकोटतिर लहसिन थालेका थिए। पृथ्वीनारायण आर्थिक मात्र नभई धार्मिक दृष्टिले पनि तिनलाई हात लिन तत्पर रहन्थे।

केरुङ्गको बाटो ल्याएको मालमा केही फजिती हुँदैन, कुतीकै बाटोमा पनि कुनै टन्टा लाग्ने छैन, दस्तुर पनि लाग्ने छैन भनेर लालमोहर गरिदिने नीति लिएका पृथ्वीनारायण धनजनको क्षयव्यय हुने युद्ध भरसक गर्दैनथे। साम, दामबाट त्यहींका मानिस हात लिने गर्थे। 'जहाँको दुवाली, त्यहींको चपरी' नीति थियो उनको।

आफूले जितेका ठाउँमा लूटपाट, अशान्ति हुन दिंदैनथे। त्यहाँका मानिसले खाईपाई आएको जीवनवृत्ति हर्दैनथे, हरिएको रहेछ भने आफूले भराइदिन्थे। कसैले पीडित भएको, खाइन–पाइन हरिएको अनुभवै गर्नुपर्दैनथ्यो। यसबाट उनको लोकप्रियता बढ्दै आयो। उनीसँग मिल्न जानेको भीड नै हुन्थ्यो।

मिल्न आएका टिस्टुङे, पालुङे, चित्लाङे आदिलाई पृथ्वीनारायणले शान्ति सुरक्षा दिएर पालन गरे। दोलखाका देशवार प्रधानहरूलाई पनि मिल्न आह्वान गरेका पृथ्वीनारायणले दोलखालाई पनि सलैसँग आफ्ना देशमा मिलाए। त्यस्तै, काठमाडौंका भद्रभलाद्मीलाई जीवनवृत्ति, विर्ता, बकस दिंदै खुरुखुरु आफूतिर मिलाउन लागे। ठूलाबडा सबै उनीसँग मिल्न गइरहेका थिए।

त्यसरी पृथ्वीनारायणको विजय अभियान साम, दान नीतिबाट रसैले चलिरहेको थियो। बेपार पनि बढिरहेकै थियो। उनले काठमाडौं शहरभित्र पसेर लडाइँ गर्दा निःशस्त्र बालवृद्ध मर्न जालान् भनेर बाहिर बाहिर तर्साइरहेका थिए।

कीर्तिपुर जित्न सके बाहिरका फिरङ्गी र नवाफहरूलाई पनि तर्साउन सकिन्थ्यो भन्ने उनको आकांक्षा हुँदो हो। कीर्तिपुरमा लडाइँ नगर्न सल्लाह दिने मन्त्री कालु पाण्डेलाई 'तँलाई मर्न डर लाग्यो' भन्दै युद्धमा होमे। त्यसमा साँच्चै ठूलो क्षति र हार भएपछि नलड्ने नीति अवलम्बन गरे। जयप्रकाश मल्लसँग सन्धिपत्र नै भयो।

अब पृथ्वीनारायणले आफ्नो साबिककै नीति अवलम्बन गरेर बाहिरका नवाफ र अंग्रेजसँग लड्ने र नेपालका राज्यहरूले आम्दानी, खर्च बराबर बाँड्ने सन्धि सम्झौता पनि गर्न खोजे।

साम, दानको नीतिबाट घेराबन्दी वा नाकाबन्दी गरेर विना युद्ध विपक्षीलाई काबु पार्ने रणनीति त उनको प्रसिद्धै भए पनि आफू–आफू मिलेर बाहिरियासँग लड्ने अनि आम्दानी बराबर बाँड्ने सम्झौता गर्ने योजना चाहिं महाकवि उदयानन्द अर्यालले उद्घाटित गरेका छन्।

जस्तो, इहा बाटमाहां ढाकन्या बेपारी लुटि खान्या चोर फेला पार्‍याको छ। ज्या हुकुम सो सहि, बिना हुकुम केहि गर्न सकिउंन. एक चोरका संगिजना २ छन गरे. पैल्याउन लाइ राख्याको छ. (पृथ्वीना. उपदेश)

पनौतिका भोटेहरूसंग कुरो गर... हाम्रो काम पुर्‍यापछि सये तिन सिक्का सुनचुरा सिरोपाउ बक्सौला (उही)

भडेल भन्याका काठमाडौंका परदेशी मेरा इष्ट हौ. आज जसोगरी हुन्छ मेरो काम पुर्‍यान, आफनु रहेछ भनि कामैमहा जानिन्छ. ताहां चिर्फोर गरी यो काम दुर्‍याब आफनु ... पुरण गरुला. उचो तिखो पनि गरुला. सुहो फुर्रा गरि काम गर. (ऐ. पंचसंग्रह)

श्रीकीति राजानन्द उपाध्या... तिमी भन्याका वडा मनुष्य हौ. तिम्रो र हाम्रा खलासि गर्नाको इच्छा छदैथियो. हाम्रा काजिका स्नेहले बहुतै बन्यो. अब तिम्रा बडो बाबा र काकासित पेट मिलाइ काठमाडौ तखतको काज दुर्‍याव तिम्रो साँखु चाँगु पाटन काठमाडौं पर्वतको घाचा वृत्ता घर्खेत जजमानको पूजासमेत माफ गरि बक्स्यौं (उही)

श्रीदोलख्या देशबार प्रधानकेषु... तिमी प्रजापात हौ, नालदुम पूर्वमेरो अम्बल भयो. तुमि मेरा हजुर आब. तिम्रो धनको जियको रह्याम गरुंला पाहं गतिस्टुंग चितलांग हामीथ्यौ सोझा भै मिल्या र उनको रछा हामीले गराको छ (उही)

हे. पंच हो. अमुक देवालयका फलाना देवलको गजुरी झिक्न जाउली गजुरी मासीकन चह्राए ति रुपैया महीनासीहरूकन दर्माह खर्च दिउला दलीकहरूलाई बलिया तुल्याउला र गोर्खासंग बुझाउला र हटाउला भयटौधी नामा प्रभृति छ प्रधानले घर चोराउनु बहालका देवताका गहना चोराउना कन भोटपा चोेरहरूकन पाल्न लाग्या र घर घर चोराया बहुत दुःख दिया (सुन्दरानन्द वाडा)

गजुर तोडिक्यै मूर्तिकाली गहना लडानी सराजाम छ थप्को बहाना फउज्मा छ लक्पक सधै हुन्छ दाना समर्सार छन् जेयप्रकाश वाना गोरखा काठमाडौं सन्धि (उदयानन्द)

बराबर चास्नीका टक काट्ने र दुवैतिर चलाउने दुवैतिर दुई वकील राख्ने, ३ भोटबाट आएका सुनचाँदी सामान बराबरी बाड्ने भोट बेपार केरुङ्गको बाटो गर्ने, अन्तबाट र मधेशबाट आएका माल जमा गरेर बाड्ने पाटनबाट ल्याएका माल जम्मे गरिलिने, पाटनमा गोरखाले अधिकार जमाए काठमाडौंले मञ्जुर गर्ने, गोरखाले अधिकार जमाएका नालदुम काठमाडौंलाई दिने, काठमाडौंले भोटे चोर नपाल्ने, गोरखाका इलाका लुट्न मनाही गर्ने, राज्यमिलोम गलान विजयी ध्जोग आयो लस्कर काहुल्या गढगरी नेपाल तखत गो डरी सुन्दा श्री नृपको हुकुम सबजना देश मारि यो काम परि लाख नौ कस्मिलि पाच मर्कट अबर मकवानि तिन लाखधरी जया सत्र तिलखरिन् तिरनमा दिउन तिनैले गरी वक्किल जाउ तिनै शहर तखतमा नेपाली साथमा पनि बन्दोबस्त गराइमा त तिरिनन नेपालि सख्छन् अनि यो दौलथ खजना रसद दिन गनी लाग्थ्यो इनै सखवनी भन्नन् चारे लखत् वराबर भञौ दिन्छन् तिरौ मिल पनी प्रजा एक हुन क्यान व्यर्थालतार्छौ?

जनता त सबै चारै राज्यका एकै उस्तै हुन् भने किन यता र उता लडाउनु? बरु हामी सबै ४ मिलेर विरन्तरीसंग लडौ र आय बरोबरी बाडौं (उदयानन्द)

 

प्रतिकृया दिनुहोस