केयुकेएलले उपत्यकामा ५३३ किमी पाइप बिछ्यायो
काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बिछ्याउनुपर्ने ६७० किमी पाइपमध्ये ५३३ किमीको काम सम्पन्न भएको छ ।
उपत्यकामा हाल भइरहेका धाराका साथै नयाँ ८५ हजार धारा वितरण गरेर चक्रपथभित्रका तीन लाख जनसङ्ख्यालाई पहिलो चरणमा पानी पुर्याउने लक्ष्य लिइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले मेलम्चीको पानी उपत्यकामा आउनु अघि नै पाइप बिछ्याउने कामसक्न ४० स्थानमा पाइप राख्ने काम भइरहेको जनाएको छ ।
आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले पाइप बिछ्याउने क्रममा सडक खन्दा निस्कने धुलोलाई व्यवस्थापन गर्न वातावरण संरक्षण ऐन र एसियाली विकास बैंकको सुरक्षा उपाय (सेफ गार्ड) नीति बमोजिम काम भइरहेको दाबी गरे ।
पहिलो चरणको पाइप बिछ्याइ जेठ मसान्तसम्म सडक कालोपत्र गरिसक्ने र त्यसलगत्तै दोस्रो चरणको पाइप बिछ्याउने काम पनि सुरु हुने खत्रीले जानकारी दिए ।
रासस