शान्त सेवक
सुरेश बिडारी
मधेश आन्दोलनका शहीद परिवार र घाइतेलगायतलाई गरेको सहयोगमा खटिएका प्रकाश थारू (४६) ले धेरैको जीवनमा उज्ज्यालो छरेका छन्।
मधेश आन्दोलनमा सहभागी हुन १५ भदौ २०७२ प्रसौनी–८ बाराबाट आएका दीनानाथ साह (२१) लक्ष्मणवा चोकको झ्डपमा सुरक्षाकर्मीबाट मारिए। त्यसपछि शिवपूजन साहले जीवनको आधार नै गुमाए।
साहको गरीबी देखेर स्थानीय प्रकाश थारूले कोशिश समूहमार्फत ५५ हजार सहयोग जुटाए। त्यो रकमले साहले कठघेरामा किराना पसल थालेका छन्।
सोही दिन भएको अर्को झडपमा चियाको तलतल मेट्न निस्किएका वीरगञ्ज–१९ का सन्तलाल यादव (५५) को ढाडमा सुरक्षाकर्मीको छर्रा लाग्यो। घाइते उनलाई बाँकी जीवन अन्धकार लाग्न थालेको थियो।
तर, उनै थारूकै सहयोगले एउटी छोरीको विवाह गराइदिएका छन्। कठघेरामा पसल थापेर जीवनयापन गरिरहेका उनी ट्राई साइकल चढेर हिंडडुल गर्न थालेका छन्।
नेशनल ट्रेडिङको जागिरबाट स्वेच्छिक अवकाश लिएका राधेमाइ, वीरगञ्जका थारू पछिल्लो समयमा सामाजिक अभियन्ताका रूपमा चिनिएका छन्।
उनी मधेश आन्दोलनका शहीद तथा घाइते परिवारका लागि अन्य सहयोगीको खोजीमा लागेका छन्। सामाजिक सञ्जाल फेसबूकबाट पनि उनी सहयोग जुटाइरहेका छन्।
मधेश रिलिफ फण्ड, हेल्प मधेशी कतार, युनाइटेड मधेशी नेपाल, बाटिका समूह, कोशिश समूह, सानो पाइला जस्ता दर्जनौं संघसंस्था र दाताहरू सहयोगका लागि थारूको सिफारिशमा विश्वास गर्न थालेका छन्। तर, उनको समाजसेवा दाता नभई आफ्नै खल्तीबाट शुरू भएको हो।
मधेशी जनतालाई आन्दोलनमा होमिन आह्वान गर्ने मधेशकेन्द्रित दलहरूले शहीद परिवार र घाइतेलाई बेवास्ता गरेपछि थारूको मन थामिएन। “घाइतेहरू अस्पतालमा एक्लै छट्पटाइरहेका हुन्थे, कसैलाई वास्ता थिएन। मैले मन थाम्न सकिनँ”, उनी भन्छन्, “केहीलाई आफैंले सहयोग गरें, केहीलाई सहयोग जुटाएँ।”
आन्दोलनका घाइते लालबाबु पटेल, मुन्सी पटेल, उपेन्द्र यादव, पन्नालाल यादव थारूकै सहयोगका भरमा छन्। अपांगता भएका बालबालिका तथा असहाय चार जनालाई उनैले ह्विलचेयर र ट्राई साइकल दिलाएका छन्।
यसबाहेक थारूले मोतियाविन्दुबाट पीडित १२ जनाको आँखाको निःशुल्क शल्यक्रिया पनि गराएका छन्। पैसाको अभावमा उपचार गराउन नसकेका धेरैलाई सद्दे बनाएका छन्।
थारूकै भनाइमा, उनीसँग सुतेर खाए पनि पुग्ने पैतृक सम्पत्ति छ। जीवन चलाउन कुनै कठिनाइ छैन। त्यसैले पनि उनी अरूका लागि सहयोग गर्न खटिएका हुन्। “मेरो सानो सहयोगले कसैको कष्ट दूर हुन्छ भने किन नगर्ने भन्ने लाग्छ”, उनी भन्छन्।
अशिक्षा, महिलामाथिको विभेद, बालविवाह जस्ता थुप्रै कुसंस्कारले जरो गाडेका कारण मधेशले उन्नति गर्न नसकेको बताउने उनी परिवर्तनका लागि एकजना नै काफी हुने तर्क गर्छन्।
आर्थिक नगरी वीरगञ्जमा लिने हात सफा भए लाखौं दिनेको कमी नभएको धारणा राख्ने उनले मानव सेवा आश्रमको वीरगञ्ज शाखा विस्तारका लागि १० पुसमा गरिएको महजात्रा कार्यक्रमका लागि पनि सहयोग उठाइदिए।
पहिला एकसुरले काम गरेका उनी अहिले सहयोगी मनहरू आफैं खोज्दै आउने र खर्चलाई फेसबूकमा सार्वजनिक गर्ने बताउँछन्।
निरन्तरको सेवाभावले थारूलाई सम्मान पनि दिलाएको छ। विभिन्न राजनीतिक दलहरूले पार्टीमा आउन आग्रह गरिरहेका छन्। तर, उनलाई राजनीति मन पर्दैन।
नेताहरूले राजनीतिलाई मागिखाने भाँडो मात्रै बनाएकोमा उनी दुःखी छन्। “मधेश आन्दोलन नै हेर्नोस्, अधिकारका लागि भनेर दलहरूले उक्साए, जनताले ज्यानको आहुति दिए”, उनको आक्रोश छ, “तर, शहीदका नाममा रोपिएको बिरुवामा भोलिपल्टदेखि कसैले एक लोटा पानी पनि हालेन।”
अरूको वास्ता नगरेरै पनि धेरैको जीवन चलिरहेकै छ। त्यसो भए किन उनलाई चाहिं समाजसेवी बन्नुपर्यो? भन्छन्, “मनमा शान्ति हुन्छ, मीठो निद्रा लाग्छ।”
सुरेश बिडारी, वीरगञ्ज