सचिव कार्कीको सांसदलाई प्रश्न, ‘सचिव सरुवा गराउन मन्त्रीका ढोका चाहर्ने कर्मचारीलाई कसले तह लगाउने ?’
“राजनीतिक दलको खोल ओढेर खरिदार, सुब्बा, अधिकृत साहेबहरु मन्त्रालयका सचिवलाई सरुवा गरिदिनुपर्यो भन्दै मन्त्रीको ढोकाढोका चाहर्छन्, लौ न कसले तह लगाउने ?” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुन कार्की सांसदसित प्रश्न गर्दै थिए ।
व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा सचिव कार्कीले प्रश्न गरिरहँदा बैठक कक्ष केही बेर सुनसान बन्यो ।
“प्रशासन कसले चलाउने ? लौ न उपाय भए पाऊँ । आफ्नै सचिवलाई सरुवा गराउन हिँड्नेलाई माननीय मन्त्रीहरुले किन ढोकाबाट निकाल्न सक्नुहुन्न ? यस्तालाई आफ्नो कार्यकक्षमा किन निषेध गर्न सक्नुहुन्न ?” उनले एकपछि अर्को प्रश्न गरिरहे ।
“शुरु शुरुमा आफूलाई त भौतिक पूर्वाधारको विकासमा पहाडै फोर्न सकिन्छ जस्तो लाग्थ्यो तर अहिले सकिँदैन जस्तो लागिरहेछ,” उनले सुनाए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, ऊर्जा, जलस्रोत मन्त्रालयमा सहसचिव हुँदै सचिव भएका कार्कीले भने, “राजनीतिकर्मी, प्रशासक, जनता सबैको व्यक्तिगत सोचभन्दा राष्ट्रिय सोच नभएसम्म सुधार हुने र गर्ने ठाउँ रहन्न ।”
“सभापतिज्यू, माननीय सांसदज्यू, अहिले प्रशासनमा डर, भर भन्ने केही छैन, कम्तीमा आफूभन्दा माथिको आदेश मान्ने, तलकाको कुरा सुन्ने र माथिको डर त होओेस् नि ? केही छैन” – सचिव कार्कीले आफ्ना कुरा राख्ने क्रममा भने ।
सचिव कार्कीले आफ्नो भनाइ राखिसकेपछि समितिका सभापति रवीन्द्र अधिकारीले राजनीतिक अस्थिरताको असर प्रशासनमा पर्न नदिन समितिले सरकारको ध्यानाकर्षण गराउने बताए ।
उनले भने, “निरास नहुनुहोस् सचिवज्यू, आफ्नो क्षमता देश र जनताका लागि उपयोग गर्नुहोस्, कसले के भन्छ, यसका पछाडि लागेर सम्भव हुँदैन ।”
रासस