१६ दिनदेखि अनशनमा रहेका नयाँ शक्ति पार्टीका नेताहरुले अनशन तोडे
जनकपुरको विकासका लागि सात बुँदे माग राखी आमरण अनशनमा रहेका नयाँ शक्ति पार्टीका नेताहरु रामकुमार शर्मा, कलामुद्दीन राइन र मिथिलेश्वर दासले अनशन तोडेका छन् ।
गृहमन्त्री विमलेन्द्र निधि र अनशनकारी बीच सहमति भएपछि १६ औं दिनमा उनीहरुले अनशन तोडेका हुन् ।
शर्मा, राईन र दासले जनकपुर विकासका लागि सात बुँदे माँग राखी माघ २० गतेदेखि आमरण अनशन शुरु गरेका थिए ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जनकपुरको जनकचोक पुगेर आमरण अनशनमा रहेका तीनैजनासँग वार्ता गरी सात बुँदे लिखित सहमती गरेका छन् ।
सहमतिमा तीन दिनभित्र सरकारका सचिवस्तरीय सातसदस्यीय समिति गठन गरी एक महिनाभित्र माग कार्यन्वयनका लागि उपयुक्त प्रकृया अपनाउने लगायतका विषय उल्लेख गरिएको छ ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष समेत रहेका रामकुमार शर्माले परिषदका कार्यकारी निर्देशक उमेश यादवलाई कार्वाही गरिनुपर्ने,
‘परिषद्लाई धराशायी बनाउन भूमिका निर्वाह गरेका’ धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई सरुवा गर्नुपर्ने, जानकी मन्दिरसहित अन्य मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न सरकारले पहल गर्नुपर्ने, जनकपुर अञ्चल अस्पताललाई शिक्षण अस्पताल बनाउनु पर्ने, राजर्षि जनक विश्वविद्यालय निर्माण कार्य अगाडि बढाउनुपर्ने, जनकपुर उपमहानगरपालिकालाई समेट्ने गरी ६ लेन बाह्य चक्रपथ निर्माण गर्नुपर्ने लगायतका माग राखेका थिए ।
सहमतिपछि गृहमन्त्री निधिले उक्त मागमध्ये अधिकांश आफैंले उठाएका मुद्दाहरु रहेको भन्दै कार्यन्वयनका लागि अग्रसरता लिने प्रतिबद्धता जनाए ।
अनशन तोडिएपछि तीनैजनालाई स्वास्थ्य उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।
ईश्वरचन्द्र झा, जनकुपर